लागु औषध नियन्त्रणमा सबैको सहयोग आवश्यक

चितवन, ०३ असार । लागु औषध ओसारपसार अपराध भएकाले यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको चितवनका प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरले बताएका छन् ।
लागु औषध नियन्त्रण गर्न समुदायका सबैको साथ र सहयोग हुनुपर्नेमा कुँवरले जोड दिए । समुदायलाई सभ्य र सुसंस्कृत बनाउनका लागि समाजबाट सुर्तीजन्य पदार्थ र सेवन बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्नु आजको आवस्यकता भएको कुँवरको भनाइ थियो । सामुदायिक सेवा केन्द्र नारायणगढले आयोजना गरेको सार्वजनिक स्थल वरीपरीका निषेधित क्षेत्रहरुमा सुर्तीजन्य पदार्थको सेवन बेचबिखन तथा ओसारपसार विरुद्ध सामुहिक तथा सचेतना कार्यक्रममा चितवनका प्रहरी प्रमुख कुँवरले लागु औषधलाई व्यवस्थित गर्नुपर्ने बताए ।
सार्वजनिक स्थानमा धुमपान गर्ने व्यक्तिलाई प्रहरीले समातेर जरिवाना गर्ने गरेको समेत कुँवरको भनाइ छ । समाजलाई व्यवस्थित गर्न नागरिकसँग हातेमालो गर्दै अगाडि बढ्न प्रहरी सधैँ तयार रहेको कुँवरले बताए । सुर्तीजन्य पदार्थको नियन्त्रणमा सधैँ प्रहरीको मुख ताकेर नहुने कुँवरको भनाइ छ ।
सुर्तीजन्य पदार्थको सेवन तथा कारोबार सम्बन्धी सचेतना कार्यक्रममा वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापाले सार्वजनिक स्थानमा धुमपान गर्नेलाई प्रहरीले कडाइका साथ कारबाही गर्दै आएको बताए । सार्वजनिक स्थानमा धुमपान गरेका व्यक्तिलाई ऐनले दिएको अधिकार अनुसार पक्राउ गरेर जरिवाना गर्ने गरेको थापाले जानकारी दिए । वैशाख र जेठ महिनामा मात्र प्रहरीले विभिन्न सार्वजनिक स्थानबाट तीन सय जना भन्दा बढी व्यक्तिलाई पक्राउ गरि जरिवाना तिराएर छोडेको थापाले बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चुननारायण श्रेष्ठले धुमपान नियन्त्रणको लागि निजी क्षेत्र सहकार्य गर्न सधैँ तयार रहेको बताए । निजी क्षेत्रका व्यक्तिहरुले व्यापार गर्ने नाममा कानुन उल्लंघन गर्न नहुने श्रेष्ठले बताए । सार्वजनि स्थानमा हुने धुमपान र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन आफूहरुले समेत सहयोग गर्ने श्रेष्ठको भनाइ थियो । कार्यक्रम सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलको अध्यक्षतामा भएको थियो भने सदस्य तारामित्र पण्डितले स्वागत मन्तव्य राखेका थिए ।