चितवनबाट तीन डाक्टर पक्राउ
चितवन ३ असार । शैक्षिक प्रमाणपत्र नक्कली बनाई चिकित्सकको काम गर्दै आएका तीन चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकामा डा रजनी अग्रवाल, डा सुनिल आचार्य र डा राजन पुरी छन् । केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले अग्रवाल र आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र पुरीलाई गोर्खाको पालुङ्टारमा सञ्चालित शिविरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
उनीहरुको अनुसन्धान समेत केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने र आवश्यकता हेरी मुद्दा दर्ता गरिने कुँवरले बताए । यसैगरी व्युरोले आजै वीरगञ्जबाट ९ र विराटनगरबाट ३ जना डाक्टर प्रक्राउ गरेको छ । आजै बिभिन्न स्थानबाट गरी १५ जना डाक्टर पक्राउ परेका छन् । व्युरोले विराटनगरबाट वरिष्ठ फिजिशियन डा. जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई पक्राउ गरेको हो। वीरगञ्जबाट पक्राउ पर्नेमा डा दिनेश साह, डा सरोज सिंह, डा अरुण कुमार गुप्ता, डा पन्नालाल पटेल, डा मोहम्मद रहतुल्ला, डा इशार्दुदल हक, डा निमिष रमण पाल रहेका छन् भने एकको नाम खुलेको छैन ।