चितवनमा तीन जना नक्कली डाक्टर समातिए

आनन्द पोखरेल
चितवन, ०३ असार । चितवनका तीन जना डाक्टर समातिएका छन् । चितवनका विभिन्न अस्पतालबाट शुक्रबार तीन जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका डाक्टरहरु नक्कली भएको स्रोतले दावी गरेको छ । शुक्रबार बिहान संयुक्त टोलीले भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल (नयाँ मेडिकल कलेज)बाट राजन पुरी, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)बाट रजनी अग्रवाल र भरतपुर अस्पताल तथा पुरानो मेडिकल कलेजमा काम गर्दै आएका सुनील आचार्यलाई पक्राउ गरेको हो । ती डाक्टरहरुको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकमा पक्राउ गरिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार तीनै जना डाक्टरले आई एस्सीको शैक्षिक प्रमाणपत्र नक्कली बनाएर डाक्टर पढेको पाइएको हो । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोले उनीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र काठमाडौँ लगेको छ । पक्राउ परेका डाक्टरहरुलाइ जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.