चुरे संरक्षणमा जोड

आनन्द पोखरेल
चितवन, ०२ असार । चुरे क्षेत्रको माटो संरक्षण गर्न सकेको अवस्थामा मात्र पनि चुरे प्रभावित समुदायको संरक्षण गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । चुरे संरक्षण दिवस २०७३ को अवसर पारेर भरतपुरमा आयोजना गरिएको कार्यक्रममा संरक्षणकर्मीहरुले चुरे नेपालको महत्वपूर्ण भाग भएकाले यसलाई जोगाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष सुरवीर पोखरेलले चुरे क्षेत्रको संरक्षण सँगसँगै यसको प्रयोग समेत गरिनुपर्ने उल्लेख गरे । चुरे क्षेत्रमा रहेका खोला नालाबाट गिटी बालुवा निकाल्न नपाउने हो भने त्यस क्षेत्रको बस्ती नै उठ्न सक्ने समेत पोखरेलले बताए । मापदण्ड तयार पारेर खोला नालाको उपभोग गर्नपाउनुपर्नेमा पोखरेलले जोड दिए । उक्त कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालय हेटौँडाका उपसचिव विष्णु पौडेलले सरकारले ल्याएको नीतिले चुरे संरक्षणसँगै प्रभावित समुदायलाई समेत व्यवस्थापन गर्ने बताए ।
चुरे क्षेत्रको संरक्षणको लागि स्थानीय समुदायले नै सहयोग गर्नुपर्ने पौडेलको भनाइ थियो । वन मन्त्रालयका उपसचिव राजु क्षेत्रीले चुरेलाई बिनाश हुनबाट रोक्न सकेको अवस्थामा मात्र तराईँको जनसंख्या सुरक्षित हुने बताए । चुरे दोहनले गर्दा विभिन्न समस्याहरु देखिन थालेको क्षेत्रीको भनाइ थियो । चुरे संरक्षण दिवसको अवसर पारेर चितवनका विभिन्न तीन वटा सामुदायिक वनहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कंकाली सामुदायिक वन पहिलो, बागदेवी सामुदायिक वन दोस्रो र जनकल्याण सामुदायिक वन तेस्रो भएका छन् ।
कार्यक्रममा चितवनका जिल्ला वन अधिकृत गणेश रायले चुरे क्षेत्रमा व्यापक रुपले अतिक्रमण भएको बताए । चुरे क्षेत्रको कृषि प्रणाली व्यवस्थित नभएको उल्लेख गर्दै रायले सप्तरीदेखि रौतहटसम्मको चुरे बढी प्रभावित भएको बताए । नेपालको चुरे क्षेत्रबाट वर्षेनि २४ करोड घनमिटर माटो बंगालको खाडीमा जाने गरेको रायले बताए । नेपालबाट माटो बढ्दै गएर बंगालको खाडीमा टापु बनेको रायको भनाइ छ ।
नेपालबाट उर्बर माटो बगेर खाडीमा गएपछि हामी खुसी हुने ठाउँ नै नरहेको बताए । तराई क्षेत्रका साना खोलाहरु चाक्लो हुँदै गएर तीन चार मिटर फराकिलो हुँदा खेतियोग्य जमिन सबै बगरमा परिणत भएको रायको भनाइ छ । वर्षातको समयमा खोलाले सबै धानबाली बगाएर लैजाने भएकाले तीन पटकसम्म धान रोप्नुपर्ने पूर्वी तराईबासीको बाध्यता भएको रायले बताए ।

Leave a Reply

Your email address will not be published.