एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार बन्छ : पूर्व सामान्य प्रशासन मन्त्री पण्डित

आनन्द पोखरेल
चितवन, २८ जेठ । पूर्व सामान्य प्रशासन मन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटि सदस्य लालबाबु पण्डितले आगामी मंसिमा नै स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।
देशलाई शान्ति र समृद्धिमा लैजानको लागि एमाले नेतृत्वको सरकाले स्थानीय निकायको निर्वाचन गराएरै छोड्ने पण्डितले ठोकुवा गरेका हुन् । शुक्रबार भरतपुर विमानस्थलमा सौराहा अनलाइनसँगको कुराकानीमा पण्डितले मंसिरमा नै स्थानीय निकायको निर्वाचन गराउनको लागि एमाले नेतृत्वको सरकारले कुनै कसर बाँकी नराख्ने बताए । एमालेले संयुक्त सरकारको नेतृत्व गरिरहेको अवस्थामा संविधान कार्यान्वयनको मुख्य जिम्मेवारी नेकपा एमालेको भएको पण्डितको भनाइ छ ।
एमालेले खुट्टा नकमाइ खुट्टा कमाउनेहरुलाई समेत खुट्टा दह्रो पार्दै संविधान कार्यान्यवन गर्न सँगै राष्ट्रिय सरकारका लागि अगाडि बढ्ने पण्डितले बताए । अहिले एक आपसमा असन्तुष्टि जाहेर गर्दै सरकारको निम्ति एउटाले अर्कोको खुट्टा तान्ने वा आफ्नो नेतृत्वमा मात्र सरकार बन्नुपर्छ भन्ने भावनालाई त्याग्नुपर्नेमा पण्डितले जोड दिए । सम्पूर्ण नेपालीको भावनालाई प्रतिनिधित्व गर्दै नेकपा एमाले अगाडि बढ्दै संविधान कार्यान्वयनमा सफलता पाउनेमा पण्डित विश्वस्त छन् ।
संविधान कार्यान्वयनका निम्ति अब स्थानीय, प्रादेशीक र संघीय चुनाव भएर जनप्रतिनिधि आएको अवस्थामा संविधान कार्यान्वयन भएको मान्न सकिने पण्डितले बताए । यी तीनै निकायको निर्वाचनको निम्ति नेकपा एमाले प्रतिवद्ध भएर लागिरहेको पण्डितले बताए । अहिले सरकार परिवर्तन हुने संभावना नरहेको र एमाले राष्ट्रिय सरकारको पक्षमा रहेको हुँदा एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार बन्नेमा आफूहरु प्रतिवद्ध रहेको पण्डितले बताए ।
नेकपा एमाले भरतपुर उपमहानगरपालिका वडा २ को वडा कमिटिको शनिबार हुने अधिवेशनको उद्घाटनका लागि स्थायी कमिटि सदस्य लालबाबु पण्डित शुक्रबार चितवन आएका हुन् । पण्डितलाई स्वागत गर्न नेकपा एमाले केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवि ज्ञवाली, जिल्ला जगन्नाथ थपलियालगायतका व्यक्तिहरु भरतपुर विमानस्थल पुगेका थिए । पण्डित आफ्नी धर्मपत्नी सहित शुक्रबार चितवन आएका हुन् ।

Leave a Reply

Your email address will not be published.