अधिकांश एजुकेशन कन्सल्टेन्सी दर्ताबिनै सञ्चालन, मन्त्रालयले अनुगमन नगर्दा दर्ता हुन सकेन : व्यवसायी

तिलकराम रिमाल
भरतपुर, २८ जेठ । जिल्लामा रहेका करिब एक सय ५० भन्दा बढी एजुकेशन कन्सल्टेन्सीमध्ये १३ वटामात्रै दर्ता भएको पाइएको छ । जिल्ला शिक्षा कार्यालय, प्रशासन, प्रहरी र घरेलु कार्यालयको संयुक्त अनुगमनको क्रममा अधिकांश एजुकेशन कन्सल्टेन्सी दर्ताबिना नै संचालनमा रहेको पाइएको हो ।
जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालका अनुसार गृह मन्त्रालयअन्तर्गत संस्था दर्ता गरेर एजुकेशन कन्सल्टेन्सी संचालनको अनुमति शिक्षा मन्त्रालयबाट लिनुपर्ने प्रावधान रहेको छ । प्रवेशिका परीक्षा सकिएपछि तयारी कक्षा र विदेश अध्ययन गर्न जानेहरुका लागि आईएलटीएस, टोफेललगायतका विषय पढाउन र परामर्श दिन यी संस्था खुलेका हुन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्मा हालसम्म जिल्लाका २६ वटा शैक्षिक परामर्श केन्द्रको अनुगमन गर्दा पाँचवटा मात्रै दर्ता भएको पाइएको बताउँछन् । पहिलो चरणमा चितवन मेडिकल कलेज अगाडिबाट लायन्सचोकसम्मका संस्था अनुगमन गरिएको बताउँदै बाँकी रहेका परामर्श केन्द्र पनि क्रमशः अनुगमन गरिने बताए । दर्ता नभएका संस्थालाई अनुमति लिएरमात्रै संचालन गर्न पत्र दिईएको शर्माले बताए ।
प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले दर्ता नभई संचालन गरेका संस्था दर्ता गरी संचालन गर्न भनिएकोमा अटेर गरेमा पक्राउ गरी आवश्यक कारबाही गरिने बताए । जेठ महिनादेखि असोज महिनासम्म तयारी कक्षा बढी चल्ने समय पारेर प्रशासनले अनुगमन गरेको हो ।
ईक्यान चितवनका अध्यक्ष जीवन रिजाल संघमा ३० वटा संस्था सदस्य रहेको जानकारी दिंदै १३ वटा दर्ता भइसकेको बताए । उनले संघका १७ सदस्यलगायतका ४८ वटा संस्थाले शिक्षा मन्त्रालयमा सम्पूर्ण कागजपत्र पु¥याए पनि मन्त्रालयले अनुगमन नगरेका कारण स्वीकृति प्रदान नगरेको बताउँछन् । मन्त्रालयले कागजी प्रक्रिया पुगे पनि आफँै अनुगमन गरेपछि मात्रै स्वीकृती प्रदान गर्ने गर्दछ ।
रिजालले प्रशासनले अनुगमन गरेकोप्रति आपत्ति प्रकट गर्दै जिल्ला प्रशासनले क्षेत्र बाहिर गएर अनुगमन गरेको आरोप लगाए । उनले भने “एजुकेशन कन्सल्टेन्सी शिक्षा मन्त्रालयले अनुगमन गर्ने हो, प्रशासनले त बजारमात्रै अनुगमन गर्नुपर्ने हो, किन यस्तो गरेको हो, हामीले बुझ्न सकेका छैनौं ।” उनले मन्त्रालयमा पटकपटक अनुगमनका लागि आउन अनुरोध गर्दा पनि नआएको बताए ।
उनले जिल्लामा एक सय ५० भन्दा बढी एजुकेशन कन्सल्टेन्सी रहेको बताउँदै नियमसंगत संचालन हुन नसक्ने संस्था खारेज गरिनु पर्नेमा ईक्यान पनि रहेको बताए । उनले भने “हामी पनि विधिसम्मत संचालन हुनुपर्छ भन्ने पक्षमा छौं, तर प्रक्रियामा रहेकालाई आज अनुगमन गरेर भोली बन्द गर भन्नु गलत हो ।”
जिल्लाका कन्सल्टेन्सीमा चितवन, नवलपरासी, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँबाट समेत विद्यार्थीहरु आउने गर्दछन् । अनुगमनको अभावमा स्वदेश र विदेश पढ्न जाने विद्यार्थी ठगिँदै आएका छन् । कतिपयले कन्सल्टेन्सी नाम राखेर कामदार विदेश पठाउने कामसमेत गर्दै आएका छन्

Leave a Reply

Your email address will not be published.