किटनाशक झुल वितरण प्रभावकारी नहुने संकेत

टि आर भारद्वाज
चितवन, २७ जेठ । ग्लोबल फण्डको सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चितवनमा वितरण गर्न लागेको किटनाशक विषादीयुक्त झुल वितरण प्रभावकारी बन्न नसक्ने देखिएको छ ।
कीटनाशकयुक्त झुल वितरणको लागि नगर क्षेत्रको टोलमा लगत संकलनको लागि पुगेका गणकहरुले नामावली संकलनमा ख्याल नगर्दा फर्जी नाममा झुल वितरण हुने पक्का देखिएको छ । ‘कीटनाशकयुक्त झुल वितरण कार्य सञ्चालन निर्देशिका २०७२’ अनुसार वितरण गर्न लगत संलकन गरिएको भएपनि नामावली टिपाउने व्यक्तिहरुले झुटो राख्दै धेरै व्यक्तिको नाम टिपाएको पाइएको हो । टोलीले यति बेला भरतपुरको विभिन्न वडाहरुमा नामावली संकलन गर्दै आएको छ ।
नामावली संकलन गर्न हिड्ने गणकहरु टोलको एउटा ठाउँमा बस्ने र टोलबासीहरु त्यही ठाउँमा जम्मा भएर नामावली टिपाउने गरेका छन् । गणकहरुले घनधनीको हकमा सोझै नाम दर्ता गरेका छन् भने घर बहालमा बस्ने व्यक्तिको हकमा घरबेटीको दस्तखतपछि नामावली संकलन गरिएको छ । नगर क्षेत्रमा नै स्थायी घर भएका व्यक्तिले सहि नामावली टिपोट गराएका भएपनि भाडामा बस्ने व्यक्तिहरुले बढी नाम राख्ने गरेका छन् ।
भरतपुरको क्षेत्रपुरमा नामावली टिपोटका क्रममा भाडामा बस्ने अधिकांश व्यक्तिले घरबेटीको हस्ताक्षर समेत आफैले गर्दै धेरै जनाको नामावली टिपाएको भेटिएको छ । तीन जना मात्र भाडामा बसेका व्यक्तिले पाँच जनासम्मको नामावली टिपाएका छन् । ‘मेरो घरमा कोठा भाडामा लिएर तीन जना बस्छन्’ एक घरबेटीले भने, –‘तर पाँच जनाको नाम टिपाएका छन् ।’
आफूहरु दुई जनामात्र भाडामा बस्ने भएपनि आफ्ना घर परिवार सबैको नाम नामावलीमा टिपाएका ती घरबेटीले बताए । घरबेटी टाढा भएका भाडावालले पनि आफैले घरबेटीको हस्ताक्षर गर्दै विषादीयुक्त झुल लिनको लागि नामावली दर्ता गराएका भेटिएको छ ।
विषादीयुक्त झुल वितरणको लागि नामावलीमा नाम टिपाएका व्यक्तिहरुको अनुगमन गर्ने हो भने धेरै झुल वितरण गर्नु नपर्ने क्षेत्रपुरमा पसल सञ्चालन गर्दै आएका माइला गुरुङको भनाइ छ । ‘मेरो छिमेकमा एउटा कोठा भाडामा लिएर दुई जना बस्छन्, तर तिनीहरुले आफ्नो घरपरिवार सबैको नाम राखेर फारम भराएका छन्’ गुरुङले भने, –‘यसरी झुल वितरण गरियो भने अनियमितता हुन सक्छ, लक्षित वर्गभन्दा बढी अरु वर्गले झुल पाउँछन् ।’
जथाभावी रुपमा नामावली टिपोट भएपछि भरतपुरमा आवश्कता भन्दा बढी झुल वितरण हुने प्रष्टै देखिएको छ । यसरी वितरण भएको झुलको व्यापक दुरुपयोग नहोला भनेर भन्न सकिदैन ।
यस आर्थिक वर्षभित्र भरतपुर उपमहानगरपालिका भित्र मात्रै एक लाख १८ हजार ३५ थान झुल वितरण गर्ने योजना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.