अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाइदै

चितवन, २६ जेठ । अपाङ्गता भएका व्यक्तिहरुलाई वातावरणमैत्री कपडाको झोला सिलाई तथा बुनाइ तालिमको सुरुआत गरिएको छ । अपाङ्ग समाज चितवनले आयोजना गरेको १० दिने सिलाई बुनाइ तालिमको बुधबार भरतपुरमा उद्घाटन गरिएको हो ।

तालिममा अपाङ्ग जागरण चितवन र सुशुम्ना नाडी घाइते मैत्रीय समाज चितवनका १५ जनाको सहभागिता रहेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका भरतपुर उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत रामकृष्ण ढकालले सरकारले ल्याएको पोलिसीका कारण अपाङ्गता क्षेत्रमा काम गर्न अप्ठ्यारो परेको बताए । उपमहानगरपालिकाबाट अपाङ्गहरुलाई लक्षित गर्दै तालिमहरु प्रदान गरिएको भएपनि त्यो प्रभावकारी हुन नसकेको ढकालले बताए ।

चालु आर्थिक वर्ष २०७२÷०७३ मा भरतपुर नगर क्षेत्र भित्रका अपाङ्ता भएका व्यक्तिहरुको लगत संकलन गर्ने भनिएको भएपनि बजेट अभावले काम अगाडि बढ्न नसकेको ढकालले बताए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य निर्मल श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुसँग कुनै न कुनै सीप भएको अवस्थामा अरुले हेप्न नसक्ने बताए । झोला बुन्ने मात्र नभएर अन्य कुनै पनि खालका ज्ञान सीपहरु लिनुपर्नेमा श्रेष्ठले जोड दिए ।

कार्यक्रममा चितवन उद्योग संघका सचिव लक्ष्मण अर्यालले तालिमलाई व्यवहारिक जीवनमा लागू गर्नुपर्ने भन्दै उत्पादित वस्तुहरुलाई बजारिकरण गर्न आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । शुभकामना मन्तव्य राख्दै नेत्रहिन संघ चितवनका अध्यक्ष भरतमणि भट्टले पछिल्लो समय छिटो छरितोको नाममा वातावरण प्रदुषण बढिरहेकोले प्लाष्टिकका झोलाहरु न्यूनीकरण गर्नका लागि समेत तालिम फलदायी हुने बताए ।

कार्यक्रममा तालिमकी प्रशिक्षक सीता गुरुङ, सिविन नेपालकी प्रतिनिधि शारदा रिजाललगायतले मन्तव्य राखेका थिए । अपाङ्ग समाज चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा सहसचिव केशवलाल सुवेदीले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.