नगरलाई वातावरण मैत्रि बनाउन खैरहनीमा अन्तरक्रिया

अनिल दराई
खैरहनी , जेठ २३ । नगरलाई वातावरण मैत्रि बनाउन आफ्ना घर , टोल , नगरबाट उत्सर्जित फोहोरको व्यवस्थापन आफैले गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । विश्व वातावरण दिवसको अवसर पारेर खैरहनी नगरपालिकाले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् । खैरहनी नगरपालिकामा फोहोर व्यवस्थापन मुख्य चुनौतीको रुपमा रहेको उनिहरुको भनाई छ । फोहोरको दिगो व्यवस्थापनमा नगरबासीले बुझे मात्र वातावरण मैत्रि नगरपालिका बन्ने उनिहरुले बताएका छन् । karahanae
कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका रामचन्द्र उप्रेतिले आफ्ना घरबाट निस्कने सड्ने तथा नसड्ने वस्तुहरु अलग–अलग स्थान राखी नष्ट गर्ने पद्धति अपनाउनुपर्ने बताउनुभयो । सड्ने वस्तुहरु संकलन गरि त्यसलाई प्राङगारिक मल बनाउदा फाईदा पुग्ने बताउनुभयो । उहाले फोहोरको दिगो व्यवस्थापन गर्न नजानेकाले नै फोहोर व्यवस्थापनमा चुनौति उब्जिएको बताउनुभयो ।
चित्रवन नगरपालिका वडा नं. ६ का वडा संयोजक रमाकान्त ढकालले नगरलाई स्वच्छ राख्न सर्वदलिय संयन्त्र , नागरिक मञ्च , टोल सुधार समिती गठन गरिनुपर्ने बताउनुभयो । नगरबासी सचेत भए मात्र वातावरण स्वच्छ हुने उहाको भनाई थियो । उहाले उदाहरण दिँदै चित्रवन नगरपालिका पनि यसरी नै वातावरण मैत्रि घोषणा भएको बताउनुभयो । यसैगरि चित्रवन नगरपालिकाकी वातावरण अधिकृत दिपा गुरुङले प्लाष्टिक जन्य फोहोर व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठले खैरहनी नगरपालिकामा फोहोर व्यवस्थापन मुख्य चुनौती रुपमा रहेको बताउनुभयो । नगरबासी आफैले फोहो व्यवस्थापन गर्न सके समस्या हटेर जाने उहाको भनाई थियो । साथै उहाले शुल्क आधारित फोहोर व्यवस्थापन समेत हट्ने बताउनुभयो । खैरहनी नगरपालिकाकी वातावरण अधिकृत बिना ढंगोलले वातावरण मैत्रि स्थानिय शासन सूचक बारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकालले नगरमा टोल सुधार समिती गठन गर्न आग्रह गर्नुभयो । कार्यकारी अधिकृत ढकालले वडा नं. १३ लाई छिट्टै वातावरण मैत्रि बनाईने बताउनुभयो । उहाले मुख्य गरि वडा नं. ८ र ६ मा फोहोर व्यवस्थापन नभएको धेरै गुनासो आउने गरेको बताउनुभयो । नगरबासी आफैले फोहोर व्यवस्थापन गर्न नजानेकाले समस्या भएको उहाले भनाई छ ।
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , समाजसेवि , बुद्धिजिवि , व्यवसायि तथा नगरबासीहरुको सहभागिता रहेको थियो । कार्यक्रम नगरपालिकाका कार्यकारी अध्यक्ष अमरनाथ ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.