विज्ञान शिक्षक समाजमा पुनः अरुणको नेतृत्व

चितवन, २२ जेठ । विज्ञान शिक्षक समाज नेपाल चितवन शाखाको दोस्रो अधिवेशनबाट पुनः अरुण कुमारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार भरतपुरमा आयोजना गरिएको दोस्रो जिल्ला अधिवेशनले अरुण कुमारको अध्यक्षातामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा विनोद प्रसाद अधिकारी, सचिवमा जयकृष्ण शर्मा, सहसचिवमा पुनाराम गौतम र कोषाध्यक्षमा नारायण प्रसाद परिहस्त निर्वाचित भएका छन् । अधिवेशन उद्घाटन सत्रका वक्ताहरुले विज्ञान विषय गाह्रो विषय भएकाले पढाउँदा विशेष ध्यान दिनुपर्ने बताए । विद्यार्थीहरुलाई प्रयोगात्मक तरिकाले अध्यापन गराउँदा उनीहरुले चाँडो बुझ्ने भएकाले विद्यालयको प्रयोगशालामा समेत सुधार ल्याउनु आवश्यक रहेको विज्ञान शिक्षकहरुको भनाइ थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका चितवनका अध्यक्ष पूर्ण पुरीले विज्ञान विषयमा धेरै विद्यार्थीहरु अनुत्तीर्ण हुने भएकाले यसको निराकरणमा शिक्षकहरु लाग्नुपर्ने सुझाव राखेका थिए । गणित शिक्षकका तर्फबाट गेहेन्द्र विष्ट, पोलिलाल गिरी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हरिशचन्द्र सुवेदी, नेपाल शिक्षक संघका उपाध्यक्ष डाक्टर हरि कंडेललगायतले मन्तव्य राखेका थिए ।
विज्ञान शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष खिलकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला अध्यक्ष अरुण कुमारको अध्यक्षतामा भएको थियो भने उपाध्यक्ष विनोद अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
यसैबीच, लामो सयमसँग विज्ञान विषय पढाएर अवकास प्राप्त गरेका दुई जना शिक्षकलाई कार्यक्रममा सम्मान गरिएको थियो । बालकुमारी उच्च माध्यमिक विद्यालयबाट अवकास प्राप्त शिक्षक विनोद कुमार श्रेष्ठ र वीरेन्द्र आदर्श उच्च माध्यमिक विद्यालयबाट अवकास पाएका शिक्षक नरकाजी पुनलाई सम्मान गरिएको हो ।

Leave a Reply

Your email address will not be published.