अनेम संघ चितवन क्षेत्र नम्बर ३ मा उर्मिला

चितवन, २२ जेठ । महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्नुपर्नेमा महिलाहरुले जोड दिएका छन् । समृद्ध र सभ्य मानव समाजको निर्माण गर्नका लागि समतामूलक समाज हुनुपर्ने महिलाहरुको भनाइ थियो ।
अखिल नेपाल महिला संघ क्षेत्रीय समिति चितवन क्षेत्र नम्बर ३ को दोस्रो सम्मेलनका वक्ताहरुले २१औँ सताब्दीमा आइपुग्दा पनि महिला र पुरुषबीच विभेद रहेको गुनासो गरेका छन् । कार्यक्रमकी प्रमुख अतिथि अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष सिता पौडेलले समाजमा महिला र पुरुषले समान हक र अधिकार पाउनुपर्ने उल्लेख गरिन् । अनेम संघ चितवन क्षेत्र नम्बर ३ को शनिबार जिल्ला पार्टी कार्यालय भरतपुरमा बोल्दै पौडेलले नयाँ संविधानले महिलाहरुलाई धेरै हक र अधिकार दिएको भएपनि यसको कार्यान्वयनमा चुनौति रहेको उल्लेख गरिन् ।
स्थानीय निकायको निर्वाचनको घोषणा भएको अवस्थामा स्थानीय निकायमा ४० प्रतिशत महिला सहभागिता संविधानले सुनिश्चितता प्रदान गरेको पौडेलको भनाइ थियो । आधा जनसंख्या भएका महिलाहरुलाई ४० प्रतिशतले नपुग्ने भन्दै अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारी सहित महिलाको प्रतिनिधित्व ५० प्रतिशत सुनिश्चित गर्नुपर्ने आफूहरुको माग रहेको पौडेलले बताइन् ।
कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले महिलाहरुको अधिकारको बारेमा एमाले सचेत रहेको बताए । क्षेत्रीय कमिटि अध्यक्ष अन्जुदेवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राधा केसीले स्वागत मन्तव्य राखेकी थिइन् ।
यसैबीच, शनिबार भएको दोस्रो अधिवेशनबाट उर्मिला पन्तको नेतृत्वमा १७ सदस्यीय अनेम संघ चितवन क्षेत्र नम्बर ३ गठन भएको छ । संघको उपाध्यक्षमा देवी कार्की, सचिवमा रन्जिता रेग्मी, सह सचिवमा शोभा पण्डित र कोषाध्यक्षमा पद्मा श्रेष्ठ निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.