प्रशासनको काममा विरोध गर्दै औषधि पसल बन्द

चितवन, २२ जेठ । जिल्ला प्रशासन कार्यालय चितवनले आफ्ना तीन जना सदस्यलाई झुटा मुद्दा लगाएको भन्दै औषधि व्यवसायीले शनिबार तीन घण्टा औषधि पसल बन्द गरेर विरोध जनाएका छन् ।
नेपाल औषधि व्यवसायी संघ चितवनका अध्यक्ष शिवप्रसाद पण्डितले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडि फार्मेसी सञ्चालन गरेका रक्षा फार्मेसीका राजेन्द्र तिवारी, तिर फार्मेसीका रामचन्द्र पौडेल र सुस्वास्थ्य मेडिकलका कृष्णप्रसाद खनाललाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि आफूहरु आन्दोलित हुनु परेको बताए । फार्मेसी पछाडि अरुको स्वामित्वमा रहेका ल्याब तथा डेण्टल क्लिनिकमा सञ्चालक नभेटेको भन्दै प्रहरीले जबर्जस्ती पक्राउ गरेको उनको आरोप छ । पक्राउ परेकालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।
त्यसको सांकेतिक विरोधको रुपमा शनिबार र आइतबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म फार्मेसी बन्द गरेर विरोध जनाइने पण्डितले बताए । चितवनमा झन्डै चार सय औषधि पसल रहेका छन् । यसैबीच, शनिबार बिहान आफ्नो फार्मेसी बन्द गरेर अन्य औषधि पसलहरु समेत बन्द गराउँदै हिडेका औषधि व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरिएका औषधि व्यवसायीहरुलाई दिउँसो १ बजेपछी छोडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताए ।
‘आफ्नो पसल बन्द गर्न पाउँछन्, त्यो उनीहरुलाई अधिकार छ’ प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने, –‘अरुको पसल बन्द गराउँदै हिँड्ने कसैलाई अधिकार छैन, त्यसैले नियन्त्रणमा लिएर छोडेका हौँ ।’ गलत तरिकाले व्यवसाय सञ्चालन गरेको कसैलाई नछोड्ने बताउँदै सबैलाई कानुन बमोजिम कारबाही गर्न आफूहरु प्रतिवद्ध रहेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published.