महिलाहरु चुलोचौकोमा मात्र सिमित हुन नहुने

चितवन, २१ जेठ । महिलाहरु चुलो चौकोमा मात्र सिमित हुन नहुने सरोकारवालाहरुले बताएका छन् । ५२ औँ अन्तर्राष्ट्रिय छुवाछुत उन्मुलन दिवसको अवसर पारेर संयुक्त महिला दलित अधिकार मञ्च चितवनले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले महिलाहरु अब समाजको हरेक क्षेत्रमा अग्रसर हुनुपर्नेमा जोड दिए ।

महिलाहरुमा पनि दलित महिलाहरु समाजमा हेपिएका बताउँदै वक्ताहरुले आफ्ना हक र अधिकार बारेमा सबैजना सचेत हुनुपर्ने बताए । कार्यक्रममा संयुक्त दलित अधिकार मञ्चका केन्द्रीय सदस्य जीतबहादुर विश्वकर्माले राजनीतिक दलहरुले दलित लगायत अन्य समुदायलाई प्रयोग मात्रै गर्ने गरेको बताए । केही सिमित दलित अगुवाहरुले दलित माथि गद्दारी गरेको उनले आरोप लगाए । चितवनमा दलित वर्गको उत्थानका लागि वर्षेनि २० लाख रुपैयाँ बटेज विनियोजन हुँदै आएकाले त्यो रकम कहाँ खर्च भएको छ भनेर खोजी गर्नुपर्ने दलित अगुवा विष्णुबहादुर घतानेले बताए ।

दलित वर्गका लागि भन्दै विभिन्न रोजगारीमूलक सीप तथा तालिमको आयोजना गरिने भएपनि त्यहाँ पहुँच भएका व्यक्ति मात्र पुग्ने भएकाले समानता आजको आवस्यकता रहेको संयुक्त दलित अधिकार मञ्च चितवनकी सदस्य जमुना परियाले बताइन् । आफूहरुले आयोजना गरेको छुवाछुत उन्मुलन दिवसको कार्यक्रमका लागि दलित समन्वय समिति चितवनकी उपाध्याक्ष मिना परियाले समेत सहयोग नगरेको सहभागीहरुले गुनासो गरेका थिए ।

महिलाहरु चुलो चौकोमा सिमित हुने जातिका भएकाले अन्तराष्ट्रिय दिवसको सन्दर्भमा कार्यक्रम गर्न नहुने भन्दै आफूहरुलाई कार्यक्रम गर्नका लागि जिबिसको बजेट विनियोजन गर्नबाट रोक्ने प्रयास समेत उपाध्यक्ष परियारबाट भएको सहभागीहरुले गुनासो गरेका थिए । कार्यक्रम संयुक्त महिला दलित अधिकार मञ्च चितवनकी अध्यक्ष धनकुमारी लामिछाने विश्वकर्माको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.