वार्षिकोत्सवमा चितवन मानव सेवा आश्रममा खाना

चितवन, २१ जेठ । पुलचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर असहाय बृद्धबृद्धाहरुलाई खाना खुवाएको छ । भरतपुर ३ नारायणगढमा रहेको संस्थाले आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर भरतपुरको आस्था चोकमा रहेको चितवन मानव सेवा आश्रमका असहाय बृद्धबृद्धाहरुलाई एक छाकको खाना खुवाएको हो ।

संस्थाकी अध्यक्ष सावित्री पौडेलले आफ्नो संस्थाको वार्षिकोत्सवमा एक छाक खाना खुवाउन शुक्रबार पुगेको भए पनि आगामी दिनहरुमा समेत सहयोग गर्ने बताइन् । पुलचोक बचत तथा ऋण सहकारी संस्था विभिन्न पेशा र क्षेत्रसँग सम्बन्धित महिलाहरुले सञ्चालन गरेको संस्था हो । आश्रममा खाना खुवाउने कार्यक्रममा आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेले आश्रम सञ्चालनको लागि औषधिउपचार बाहेक मासिक रुपमा करिब साढे दुई लाख रुपैयाँ खर्च हुने गरेको बताइन् ।

आश्रममा आएका व्यक्तिलाई उपचार गर्दै सामान्य अवस्थामा ल्याएपश्चात परिवार पत्ता लगाएर परिवारमा पुनस्र्थापना गर्दै आएको समेत न्यौपानेले बताइन् । विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोगका कारण चितवन मानव सेवा आश्रम सञ्चालनमा सहजता आएको उल्लेख गर्दै न्यौपानेले आश्रममा अहिले पनि मासिक रुपमा पाँच हजार रुपैयाँसम्म सहयोग गर्ने व्यक्तिहरु रहेको बताइन् ।

आश्रमले अहिलेसम्म ७१ जना असहाय व्यक्तिहरुलाई सेवा दिइसकेको जनाउँदै न्यौपानेले हाल आश्रममा ४४ जना व्यक्तिहरुले आश्रय लिइरहेको बताइन् । आश्रमले हालसम्म १७ जना व्यक्तिलाई परिवारमा पुनस्र्थापना गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.