नेपाल विद्यार्थी संघको कार्यकर्ता प्रशिक्षण शनिबारदेखि

गैंडाकोट, २१ जेठ । नेपाल विद्यार्थी संघको आयोजनामा प्रदेश नम्बर ४ अन्तर्गत पर्ने जिल्लाका कार्यकर्तालाई प्रशिक्षण दिइने भएको छ ।

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनले लिएको कार्य दीशाको बारेमा समेत प्रशिक्षण गराइने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रदेश नम्बर ४ स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको पूर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रशिक्षणमा प्रदेश ४ मा पर्ने ११ जिल्लाका नेपाल विद्यार्थी संघका कार्यकर्ताको उपस्थिति रहनेछ । प्रदेश नम्बर ४ स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका संयोजक एवम् नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गोकुल सापकोटाले प्रत्येक जिल्लाबाट सात जना सहभागी हुने बताए ।

११ जिल्लाका ७७ जना तथा आयोजक जिल्लाबाट ३० भन्दा बढी सहभागी रहने सापकोटाले जानकारी दिए । नेपाल विद्यार्थी संघ प्रदेश नम्बर ४ को प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले शनिबार बिहान गर्ने बताइएको छ । जेठ २२ र २३ गते गैंडाकोटको शिलान्यास चोकमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नको लागि कम्तिमा पनि पाँच लाख रुपैयाँ खर्च हुने सापकोटाले बताए ।

प्रशिक्षण कार्यक्रममा नेवि संघका जिल्ला सभापति, सचिव, स्ववियू निर्वाचन हुने क्याम्पसका एकाइ सभापतिलगायतका व्यक्तिहरु सहभागी रहने बताइएको छ । प्रशिक्षार्थीहरुलाई नेपाली काँग्रेसको भावी रणनीति र नेवि संघले आगामी दिनमा गर्नुपर्ने कामका बारेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बद्रि पाण्डे, धनराज गुरुङ, केन्द्रीय सदस्यहरु मोहन ज्ञवाली, गुरुराज घिमिरेलगायलते प्रशिक्षण दिने बताइएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आयोजना गरेको प्रशिक्षणमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति चितवनले व्यवस्थापन गर्नेछ ।

पत्रकार सम्मेलन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवम् कार्यकर्ता प्रशिक्षणका संयोजक गोकुल सापकोटाको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.