चितवनमा घरेलु हिंसाका घटना बढे

आनन्द पोखरेल
चितवन, २१ जेठ ।
विगतको तुलनामा चितवनमा घरेलु हिंसाको घटना ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सहायता कक्षमा परेको उजुरीको तथ्यांकलाई आधार मान्दा गत मंसिरदेखि चैतसम्म घट्दै गएको घरेलु हिंसाको घटना वैशाखमा बढेको देखिएको हो ।
विक्रम सम्वत् २०७२ सालको चैत महिनामा महिला सेलमा घरेलु हिंसा सम्बन्धी नौ वटा उजुरी दर्ता भएकोमा वैशाखमा लगभग दोब्बर वृद्धि हुदै उजुरी १७ वटा पुगेको छ । गत चैतमा घरेलु हिंसा सम्बन्धी १९ वटा उजुरी दर्ता भएका थिए । पुसमा त्यो संख्या घटेर १२ पुगेको थियो भने माघमा ११ र फगुनमा जम्मा १० वटा घरेलु हिंसा सम्बन्धी उजुरी महिला सेलमा दर्ता भएका थिए ।
वि.सं. २०७३ वैशाखमा प्रहरीको महिला सेलमा जम्मा ४० वटा उजुरी परेकोमा १७ वटा घरेलु हिंसा सम्बन्धीका छन् । त्यस्तै, २३ वटा उजुरी हराएका मानिसको परेको छ । वैशाखमा चार जना बालक दुई बालिका १४ जना महिला र तीन जना पुरुष हराएको उजुरी प्रहरी कार्यालयको महिला सेलमा परेको हो ।
२३ जना मानिस हराएको उजुरी परेको भएपनि वैशाख महिनामा पाँच जना मानिस मात्र फेला परेको तथ्यांक प्रहरी कार्यालयमा रहेको छ । वैशाख महिनामा दुई जना बालक, दुई जना महिला र एक जना पुरुष फेला परेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published.