स्नानघाट निर्माणको काम अन्तिम चरणमा

देवघाट, १० असार । त्रिशुली नदी र काली गण्डकी नदीको संगमस्थलको रुपमा रहेको देवघाट धामको बेनीमा स्नान घाट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगतको पर्यटन विभागबाट बजेट निकासा भएपछि स्नानघाट निर्माणको काम सुरु गरिएको थियो ।
पर्यटन विभागको ४५ लाख रुपैयाँ र देवघाट तीर्थ स्नान स्थल एवम् शव घाट संरक्षण विकास जल उपभोक्ता समितिको २० प्रतिशत श्रमदानमा स्नान घाट निर्माण सुरु गरिएको थियो । गत वर्षको चैत ८ गते उपभोक्ता समूहसँग सम्झौता भएर अगाडि बढाइएको काम करिब ८० प्रतिशत पूरा भएको उपभोक्ता समितिका अध्यक्ष उमाकान्त लम्सालले बताए । असार ३० गतेसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने गरि सम्झौता भएको उल्लेख गर्दै लम्सालले वर्षा लागेपछि मात्र निर्माण सम्झौता गरिएकाले काम गर्न अप्ठेरो परेको गुनासो पोखे ।
जेनेरेटरबाट पानी हटाउँदै जग बासालिएको जानकारी लम्सालले गराए । जग भन्दा माथी गारो लागाउन भने खासै असहज नभएको लम्सालको भनाइ छ । हिउँद र वर्षा दुवै समयमा तीर्थालुहरु स्नान गर्न सकुन् भनेर स्नाथ घाट निर्माणको लागि काम सुरु गरिएको लम्सालले बताए । उक्त ठाउँमा निर्माणको काम गर्नको लागि मंसिर पुस महिनामा सम्झौता भएर काम अगाडि बढाइनु पर्ने अन्थया पानीको तह माथि आएपछि काम गर्न गाह्रो हुने लम्सालले बताए ।
अहिले निर्माण भइरहेको स्थान घाट करिब ५५ मिटर लामो रहेको छ । निर्माणाधिन स्नानघाटको जगको चौडाई तीन दशमलब तीन मिटर रहेको मोटाइ ५० सेन्टिमिटर हुने लम्सालले जानकारी दिए । जग बाहेक माथीको गारो तीन मिटर अग्लो हुने स्थान घाटको मोटाइ ५५ सेन्टीमिटर रहनेछ ।

Leave a Reply

Your email address will not be published.