साझा योजना तयार पार्न आग्रह

नवलपरासी, २१ जेठ । नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर २ मा रहेको नवपारिजात टोल विकास संस्थाले सम्पर्क कार्यालय स्थापना गर्दै कार्यकारी अधिकृतलाई स्वागत गरेको छ । गैंडाकोट नगरपालिकामा गत चैतमा सरुवा भइ आएका कार्यकारी अधिकृत श्रीकृष्ण नेपाललाई गैंडाकोटको एक्ले सालमा रहेको नव पारिजात टोल विकास संस्थाले स्वागत गरेको हो ।
स्वागत पछि कार्यकारी अधिकृतले मन्तव्य राख्दै स्थानीय निकायमा जनप्रतिनिधि नभएको बेलामा टोल विकास संस्थाहरुको महत्वपूर्ण भूमिका हुने बताए । वडाको विकास योजना निर्माणमा टोल विकास संस्थाहरुले नगरपालिकालाई सहयोग गर्नुपर्ने नेपालले बताए । विकास निर्माणका योजना बनाउँदा वडाको साझा समस्यालाई प्राथमिकतामा राखेर बनाउन समेत नेपालले आग्रह गरे ।
नगरपालिकाको आन्तरिक आयस्रोत कम भएको उल्लेख गर्दै स्रोत बढाउनको लागि नगरबासीहरुले सहयोग गर्नुपर्नेमा नेपालले जोड दिए । आगामी आर्थिक वर्ष २०७३÷०७४ बाट नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाउने तयारी गरेको उल्लेख गर्दै सबैलाई कर तिर्नका लागि समेत नेपालले आग्रह गरे । एकीकृत सम्पत्ति कर तिर्दा थोरै सम्पत्ति हुनेले थोरै र धेरै सम्पत्ति भएका नगरबासीले धेरै कर तिर्नुपर्ने भएकाले विपन्न वर्गका समुदाय आत्तिनु नपर्ने नेपालको भनाइ थियो ।
गैंडाकोट नगरपालिकालाई २०७४ सालको चैतसम्ममा बालमैत्री नगर घोषणा गर्ने तयारी भएको भएपनि यो चुनौतिपूर्ण काम भएको कार्यकारी अधिकृत नेपालले उल्लेख गरे । नगरपालिकामा १७ वटा वडाहरु भएको भए पनि ११ वटा वडामा मात्र बालक्लब गठन भएकाले अन्य वडामा समेत बालक्लब गठन गर्न सहयोग गर्नुपर्ने नेपालले बताए ।
नव पारिजात टोल विकास संस्थाका अध्यक्ष कमल शर्मा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक वडा मञ्च, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा टोलबासीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.