अपाङ्गता सम्बन्धी बनेका कानुन कार्यान्वयनमा जोड

चितवन, २१ जेठ । अपाङ्गता सम्बन्धी बनेका कानुनहरु पुर्ण रुपमा कार्यन्वयन नहुँदा आफूहरु थप समस्यामा परेको अपाङ्गता भएका व्यक्तिहरुले गुनासो गरेका छन् । जिल्ला अपाङ्गता उत्थान समन्वय समिति चितवनले भरतपुरमा आयोजना गरेको अपाङ्गता भएका ब्यक्तिहरुका लागि कानुनी प्रावधान तथा मानव अधिकार सम्वन्धी अनुशिक्षण कार्यक्रमका सहभागीहरुले कानुनमा उल्लेख भएका विषयवस्तुलाई कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
संविधानमा अपाङ्गताका विषयमा धेरै कुराहरु समावेश गरिएको भए पनि त्यसलाई आफूहरुले अनुभव गर्न नपाएका अपाङ्गता भएका व्यक्तिहरुको भनाइ थियो । राष्ट्रिय अपाङ्गता उत्थान समन्वय समितिका केन्द्रीय सदस्य निर्मल कुमार श्रेष्ठले कार्यक्रममा वास्तविक समानाता आजको आवश्यकता रहेकोमा जोड दिए । सार्वजनिक सेवा प्रदायक संस्थाहरु अपाङ्गमैत्री नहुँदा थप समस्या भएको श्रेष्ठको भनाइ थियो ।
त्यस्तै चितवनका जिल्ला न्यायाधीस टेकनारायण कुँवरले फरक क्षमता भएका ब्यक्तिहरुलाई राज्यले संरक्षण गर्नुपर्ने बताए । राज्य सञ्चालकहरुले प्रभावकारी काम गर्न नसकेको कुँवरको भनाइ थियो । सार्वजनिक निकायमा अपाङ्गमैत्री संरचना भएमा मात्र समान न्याय हुने भन्दै कुँवरले नयाँ बनेका भौतिक संरचनाहरुमा समेत यस विषयलाई नजरअन्दाज गरिएको बताए ।
फरक क्षमता भएका व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई कानुनले नै संरक्षण गरेका कारण शारीरिक बनावटका आधारमा कसैलाई पनि होच्याउन नहुने कुँवरले बताए । सन् २०१० मा नै नेपालले फरक क्षमता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको उल्लेख गर्दै कुँवरले यसलाई राज्यले पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरले विशेषगरी यातायातमा देखिने समस्या सामाधानका लागि ट्राफिक प्रहरीको सहयोगमा काम गरिरहेको बताए । अपाङ्गता प्रति गरिने व्यवहार र दृष्टिकोण परिवर्तन गर्न कुँवरले आग्रह गरे । फरक क्षमता भएका व्यक्तिलाई हरक्षण सहयोग गर्न आफू तत्पर रहेको समेत कुँवरले प्रतिवद्धता जनाए ।
कार्यक्रममा मानवअधिकारकर्मी विश्व बाँस्तोलाले अपाङ्गता भएका व्यक्तिहरुको मानन अधिकार विषयक कार्यपत्र तथा नेत्रहिन संघ चितवनका अध्यक्ष भरतमणि भट्टले नेपाली अपाङ्गता जगतका उपलब्धी, समस्या र सामाधान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपानेले सहजकरण तथा कानुनी प्रावधान बारे जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published.