देउसी भैलोको पैसा सडक विस्तारमा

वसन्त ढुंगाना
चितवन, २१ जेठ । तिहारमा दैउसीभैलो खेलेर संकलन गरेको रकमबाट भरतपुर उपमहानगरपालिका वडाद नम्बर ६ मा रहेको सूर्योदय टोलका नगरबासीले बाटो फराकिलो गर्दै ग्राबेल गरेका छन् ।
सडक साँघुरो र खाल्टाखुल्डी भएको कारण आवतजावत गर्न असहज भइरहेको अवस्थामा टोलबासीले देउसी भैलो खेलेर संकलन भएको रकमले पाँच सय मिटर सडकमा ग्राभेल गरेका हुन् । बजेट अभावमा कारण सडक ग्राभेल गर्न नसकेपछि टोलबासीले देउसी खेलेर संकलित रकमबाट ग्राबेल गरिएको सूर्योदय टोलका अध्यक्ष जय नारायण सापकोटाले जानाकारी दिए ।
देउसी भैलोबाट संकलन भएको दुई लाख आठ हजार रुपैयाँ बजेटबाट ६ मिटर फराकिलो र पाँच सय मिटर लम्बाई सडक ग्राभेल गरिएको सापकोटाले जानाकारी दिए । सो सडक पहिले चार मिटर फराकिलो थियो । भरतपुर ६ मा रहेको पेन्सनक्याम्पदेखि नहर जाने बाटो र पेन्सन क्याम्प पछाडिबाट टाईगरचोक जाने बाटोमा ग्राभेल गरिएको सूर्योदय टोलका सचिव प्रेम प्रसाद सापकोटाले जानकारी दिए ।
उनीहरुले दुई पटक खेलेको देउसी भैलोबाट संकलित रकम सडक निमार्णका लागि खर्चिएका हुन् । टोलबासीले पहिलो वर्ष ८४ हजार र दोस्रो वर्ष एक लाख ४४ हजार रुपैयाँ देउसी खेलेर संकलन गरेका थिए । बाटो साँघुरो र कच्ची हुँदा त्यहाँका स्थानीयबासीहरु घाममा धुलो र पानी पर्दा हिलोले हैरानी बेनेका थिए ।

Leave a Reply

Your email address will not be published.