चितवनमा घरेलु हिंसाको घटनामा वृद्धि

चितवन,१० असार ।  चितवनमा पछिल्लो तीन वर्षमा घरेलु हिंसाका घटनामा वृद्धि भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका कक्षले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा घरेलु हिंसाका घटनामा वृद्धि हुँदै आएको छ ।
कार्यालयमा घरेलु हिंसा सम्बन्धी ठाडो उजुरी दिनेको संख्या पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०६९/७० मा चितवनमा एक सय ४७ वटा घरेलु हिंसा सम्बन्धी उजुरी परेका थिए । जसमा खान लाउन नदिएको ७० वटा, कुटपिट गरेको ६७ वटा र गाली बेइज्जती गरेको १० वटा उजुरी परेको छ । कुल एक सय ४७ वटा उजुरी मध्ये ६६ वटा उजुरीलाई मिलापत्र गरेर मिलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी, आर्थिक वर्ष २०७०/०७१ उजुरीको संख्या बढेर दुई सय छ वटा पुगेको थियो । जसमध्ये खान लाउन नदिएको ९६ वटा, कुटपिट गरेको ७० वटा, गाली बेइज्जती गरेको ४० वटा उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन् । दुई सय छ वटा उजुरी मध्ये एक सय ७५ वटा उजुरीलाई मेलापत्र गरिएको छ ।
त्यसैगरी, अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा घरेलु हिंसा सम्बन्धी तीन सय २८ वटा उजुरी प्रहरी कार्यालयको महिला तथा बालबालिका कक्षमा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रेष्ठका अनुसार अघिल्लो वर्षमा खान लाउन नदिएको आरोपमा एक सय ९० वटा, कुटपिट गरेको आरोपमा ७५ वटा र गाली बेइज्जती गरेको आरोपमा ६३ वटा उजुरी दर्ता भएका थिए । गत वर्ष तीन सय २८ वटा उजुरी दर्ता भएका भएपनि एक सय ४५ वटा घटनालाई मात्र मेलापत्र गराइएको थियो ।

Leave a Reply

Your email address will not be published.