आशिषको पोलिग्राफ गरियो

चितवन, १८ जेठ । राष्ट्रिय फुटवल खेलाडी विमल घर्ती मगरकी बहिनी १७ बर्षीय मनिषा घर्तीमगरको ‘हत्या’ आरोपमा पक्राउ परेका रुद्रनारायण चौधरी ‘आशिष’ को पोलिग्राफ जाँच गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट आएको विशेषज्ञ सहितको टोलीले मंगलबार ५ घन्टा लगाएर पोलीग्राफ जाँच गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । एकान्त र फ्रेस कोठा आवश्यक पर्ने भएपछि नवलपरासीको सुनवल स्थित लोटस रिर्साेटमा आशिषलाई पाँच घन्टा लगाएर जाँच गरिएको पोखराबाट आएको टोलीका प्रमुख एवं पोलीग्राफ विशेषज्ञ प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिए ।
मंगलबार बिहान ८ बजे देखि सुरु गरिएको पोलिग्राफ जाँच कार्य दिउँसो १ बजे मात्र सकिएको थियो । परिक्षणको रिर्पाेट प्रहरी प्रधान कार्यालय काठमाण्डौ पठाईएको छ । परिक्षणको नतिजा काठमाण्डौबाट बुधबार बिहान सम्ममा सार्वजनिक हुने पाण्डेले जानकारी दिए । पोलीग्राफ परिक्षणबाट आरोपी झुटो बोले वा नबोलेको पत्ता लाग्ने गर्दछ ।
गत बिहीबार बिहान आफ्नै घरमा मृत्त अवस्था भेटिएकी मनिषाको हत्या वा आत्महत्या भन्ने एकिन भईसकेको छैन । उनको पोष्टमार्टमको रिपोर्ट शिक्षण अस्पतालले प्रहरीलाई बुझाएको छ तर सार्वजनिक गरिएको छैन । अनुसन्धान पुरा भएपछि प्रहरीले आफ्नो कुरा भन्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.