गृह मन्त्री बस्नेतको संसदमा जवाफ

काठमाडौँ, १८ जेठ । गृहमन्त्री शक्ति बस्नेतले देशमा भएको प्राकृतिक प्रकोप र त्यसले गरेको क्षतिका बारेमा संसदमा जानकारी गराएका छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा गृहमन्त्री बस्नेतले गएको मंसिरयता आगलागीबाट ७६, बाढीमा परेर १७ जना तथा चट्यांग लागेर २८ जनाको ज्यान गएको जानकारी गराएका हुन् ।
यस्तै वर्षायाम सुरु भएकाले संभावित बाढी पहिरोको जोखिम न्युनीकरणका लागि पनि सरकारले चुस्त संयन्त्र बनाएको जानकारी दिए । प्रकोपको पूर्व तयारी तथा व्यवस्थापनका लागि जिल्ला दैवी प्रकोप उद्दार कोषमा आवश्यक बजेट मौज्दातका लागि पठाइसकेको र बजेट अपुग भए माग गर्न निर्देशन समेत दिइएको बस्नेतले बताए । पहिरो गएर सडक अवरुद्ध हुनसक्ने कुरालाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागसँग मिलेर डोजर तथा बाटो खुलाउन आवश्यक सामाग्री तथा जनशक्ति तयारी अवस्थामा राखिएको बस्नेतको भनाई छ ।
यस्तै, आगलागीका घटनाप्रति पनि सरकार संवेदनशील रहेको र आगलागी पीडितका लागि पनि उचित व्यवस्थापन गर्न सरकार गम्भीर रहेको पनि बस्नेतले बताए । यसअघिको बैठकमा सभामुख ओनसरी घर्तीले देशमा भएका प्राकृतिक प्रकोप र यसले पु¥याएका क्षतिका बारेमा जानकारी दिन सरकारलाई निर्देशन दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published.