नारायणगढमा सवारी आवागमन सहज पारिदै

तुलमान गुरुङ
चितवन, १७ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर नारायणगढ बजार क्षेत्रमा हुन थालेको अनियमित बस पार्किङलाई व्यवस्थित गर्ने भएको छ ।
बजार व्यवस्थापनका लागि पटक–पटक विभिन्न कार्यक्रमको आयोजना गरेपनि पछिल्लो समय सवारीको चाप बढेपछि पार्किङ व्यवस्थापन कमजोर भएको जनगुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर नारायणगढ बजार क्षेत्र भएर गुड्ने लामो तथा छोटो दूरीका सवारी साधन पार्किङको व्यवस्थापन गर्न लागेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुर नारायणगढ बजार क्षेत्रमा जथाभावी रुपमा सवारी साधन रोकेर यात्रु चढाउने र झार्ने गर्दा पैदल यात्रुहरुलाई समस्या भएको भन्दै जिल्लाका विभिन्न सरोकारवाला निकायहरुसंग छलफल गरि बस व्यवस्थापन गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुरमा सोमबार सरोकारवाला निकायहरुसंगको छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख राजन भेटवालले जिल्लाका पुल्चोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी जस्ता व्यस्त क्षेत्रहरुमा सवारी साधन रोकेर यात्रु चढाउने र झार्ने गर्न नपाइने प्रस्तावना पेश गर्नुभएको छ । भरतपुर नारायणगढ भएर पूर्व–पश्चिम गुड्ने सवारी साधनहरुलाई नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनल बाहेकका स्थानहरुबाट यात्रु चढाउने र ओराल्ने गर्न नपाउने प्रस्ताव समेत पेश गरिएको छ ।
ट्राफिक प्रहरी प्रमुख भेटुवालका अनुसार पश्चिमबाट आउने र पश्चिम छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनहरु अब पुलचोकमा नरोकि सिधै पोखराबसपार्कमा रोक्नुपर्ने र पूर्वबाट आउने र पूर्वका लागि छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनहरु केन्द्रिय बस टर्मिनल प्रवेश नगरि चल्न नपाउने भएको छ । तसर्थ पूर्वबाट भरतपुर हुँदै राजधानी तथा पोखरालगाएतका स्थानहरुमा जाने सवारी साधनहरु केन्द्रिय बस टर्मिनलबाट सिधै बाईपास हुँदै जाने व्यवस्था मिलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख भेटुवालले जानकारी दिनुभयो ।
यस्तै नगरभित्र सञ्चालनमा रहेको साना तथा छोटो दूरीका सवारी साधनका कारण बजारको पार्किङ व्यवस्थापन अस्तव्यस्त भएको भन्दै ती सवारी साधनहरुको लागि पनि सम्बन्धित निकाय तथा यातायात व्यवसायीहरुसंग छलफल गरेर समस्या समाधान गर्ने उहाँको भनाई छ । यसैबीच चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जिल्लामा सवारी चाप अत्यधिन मात्रामा बढ्दै गएको भन्दै यस्को व्यवस्थापनका लािग सबैभन्दा पहिले पुलचोक क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
नारायणगढ बजार क्षेत्रको मुख्य चोकमा नै बढि भिडभाड हुने भएकोले सोही क्षेत्रमा यातायात पार्किङको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालेको कदमप्रति नारायणी यातायात व्यवसायी समितिले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । समितिका उपाध्यक्ष अशोक पोखरेलले यातायात पार्किङको व्यवस्थापन गरेर बजार क्षत्रलाई सुन्दर नगरी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । तर, पछिल्लो समय ई–रिक्सा र फुटफाथ पसलहरुका कारण यातायात व्यवस्थापनमा समस्या भएको मिलनरोड टोल सुधार समितिका अध्यक्ष मिलनबाबु श्रेष्ठको भनाई छ ।
ई–रिक्सा र फुटपाथ पसलका ठेलाहरुले जथाभावी रुपमा बाटो काट्दा दुर्घटना हुन सक्ने भन्दै त्यस्को उचित व्यवस्थापन नगरेसम्म यातायात पार्किङ व्यवस्थापन गर्न कठिनाई हुने उहाँले बताउनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको अध्यक्षतामा भएको सो कार्याक्रममा जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी निकाय, विभिन्न राजनैतिक दल तथा अन्य सरोकारवाला निकायका प्रमुखहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.