अर्थमन्त्रीद्वारा साढे खर्बको बजेट प्रस्तुत

चितवन, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३÷७४ को लागि करिब १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् । व्यवस्थापिका संसदमा शनिबार साँझ अर्थमन्त्री पौडेलले करिब १० खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
नयाँ संविधान जारी भएपछि सरकारले पहिलो बजेट ल्याएको हो । संविधानमै हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने कानुनी व्यवस्था गरिएको छ । खासगरी पुनःनिर्माण, कृषि, पर्यटन, सामाजिक सुरक्षा, ठूला पूर्वाधारका योजना, स्वास्थ्य, शिक्षा, सञ्चार, जलस्रोत, ऊर्जालगायतका क्षेत्रत्रलाई प्रथामिकतामा राखेर बजेट ल्याइएको छ । सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको स्थानीय निकायको निर्वाचनका लागि समेत बजेट विनियोजन गरेको छ । आगामी आवमा कर्मचारीको तलब करिब २५ प्रतिशतले बृद्धि गरिएको छ ।
यसैबीच, सरकारले चितवनमा आधुनिक एक्सपो सेन्टर बनाउने भएको छ । यसको लागि सरकारले बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी बताए । सरकारले चितवनलाई कुखुरा उत्पादनको विशिष्टीकरण जिल्लाको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै नारायणी लिफ्ट सिँचाई प्रणालीलाई व्यवस्थित गर्ने, नारायणी नदीको तटबन्धनलाई व्यवस्थित गर्ने गरि आगामी वर्षको लागि बजेट ल्याएका छन् ।
सरकारले सामाजिक सुरक्षा अन्तर्गत जेष्ठ नागरिक अर्थात् वृद्ध भत्तालाई दोब्बर बनाएको घोषणा गरेको छ । यो सरकारी घोषणासँगै अव वृद्ध–वृद्धाले मासिक दुई हजार रुपैयाँ भत्ता दिने व्यवस्था मिलाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
त्यसैगरी, विधवा र पिछडिएको वर्गलाई दिने सामाजिक सुरक्षा भत्ता पनि दोब्बर बनाइएको अर्थमन्त्रीले जानकारी दिए । सामाजिक सुरक्षाका लागि ३२ अर्ब रुपयाँ बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताए । सबै प्रकारका सामाजिक सुरक्षाको भत्ता बैंकमार्फत मात्रै वितरण गरिने मन्त्री पौडेलले बताए । शून्य मौज्दातमा बैंक खाता खोल्ने व्यवस्था मिलाउने उनले बताए ।
स्नातक वा माथिल्लो तह पढ्ने विद्यार्थीको लागि सरकारले निब्र्याजे ऋणको व्यवस्था गर्ने बताउँदै हरेक जिल्लामा कृषि क्याम्पस खोल्ने पौडेलले बताए । स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले कम्तिमा पनि छ महिना ग्रामीण क्षेत्रमा गएर स्वयम् गर्नुपर्ने बजेटबाट व्यवस्था गरिएको छ । बजेट भाषण गर्दै बजेट कार्यान्वनमा सबैको सहयोग हुनेमा विस्वस्त रहेको पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published.