नवलपरासीको छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु

दयाराम आचार्य
नवलपरासी, १२ जेठ । नवलपरासीमा बुधबार भएका दुई वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ । दुवै दुर्घटनामा परी २७ जना यात्रु घाईते भएका छन् ।

accident

बुधबार बिहान ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत गैँडाकोटको हर्कपुरमा भएको मिनीट्रक दुर्घटनामा पाँच जनाको ज्यान गएको हो । सल्यानबाट काठमाण्डौका लागि छुटेको बा२क ११३७ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोकिदा घटनास्थलमा दुई र बाँकी तीन जनाको उपचारका क्रममा भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा ज्यान गएको ईलाका प्रहरी कार्यालय गैँडाकोट नवलपरासीका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।

मृतकमध्ये तीन जनाको मात्रै सनाखत भएको छ । ज्यान जानेहरुमा सल्यान शारदा नगरपालिका १० की सितली कुँवर, सारदा १० कै ३५ वर्षीय दिल्ली कुँवर र शारदा ३ की दुई वर्षीय मिम्मी गिरीको सनाखत भएको प्रहरी निरीक्षक हमालले जानकारी दिए । मृतक दुई पुरुषको सनाखत हुन सकेको छैन । उक्त घटनामा अरु १३ जना घाईते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । इट्टा भट्टामा काम गर्ने १८ जना मजदुर बोकेको मिनीट्रक दुर्घटनामा परको हो ।

यस्तै, बुधबार दिउँसो नवलपरासीको बर्दघाटमा अर्को सवारी दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । बर्दघाटको भुताहामा लु१ख ३१६८ नम्बरको बसले लु१ख ७३७४ नम्बरको अर्को बसलाई पछाडिबाट ठक्कर दिएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । घाईतेमध्ये बर्दघाट २ का ३२ वर्षीय शान्ति ढकाल र ३५ वर्षीय कमल पाण्डेयको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बर्दघाट दुर्घटनाका केही घाइतेको भरतपुर, केहीको स्थानीय अस्पताल र केही घाइतेको बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.