यस वर्ष चितवनमा मलको अभाव नहुने

आनन्द पोखरेल
भरतपुर, १२ जेठ । चितवनमा यस वर्ष रासायनिक मलको अभाव नहुने बताइएको छ । चितवनमा यस वर्ष पर्याप्त मात्रामा रासायनिक मल भएका कारण मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिडेटका प्रबन्धक रविन्द्र गौतमले बताएका हुन् ।
कृषि सामग्री संस्थानको गोदाममा अहिले आठ सय मेट्रिक टन रासायनिक मल मौज्दात रहेको गौतमले जानकारी दिए । मौज्दात मलले चितवनमा असार महिनासम्मलाई पुग्ने र थप मल आउने क्रम जारी गरहेको गौतमको भनाइ छ । चितवन जिल्लालाई आवश्यक पर्ने मलको ७० प्रतिशत मल कृषि सामग्री कम्पनीले उपलब्ध गराउँदै आएको छ भने बाँकी ३० प्रतिशत मल साल्ट ट्रेडिङ कर्पोरेसनले उपलब्ध गराउँदै आएको छ ।
आर्थिक वर्ष २०७०/७१ मा कृषि सामग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय भरतपुरबाट करिब सात हजार तीन सय ७१ मेट्रिक टन मल बिक्री भएको थियो । त्यसैगरी, गत आर्थिक वर्ष २०७१/०७२ मा सात हजार सात सय मेट्रिक टन कृषि सामग्री संस्थानबाट बिक्री वितरण भएको थियो । चालु आर्थिक वर्ष २०७२/७३ मा भने जम्मा चार हजार पाँच सय ५० मेट्रिक टन रासायनिक मल मात्र कम्पनीबाट बिक्री भएको गौतमले जानकारी दिए ।
चालु आर्थिक वर्ष ०७२÷०७३ को सूरुआतको चार महिनामा कृषि सामग्री कम्पनीले मल बेच्न नपाएका कारण पनि थोरै मल विक्री भएको गौतमको भनाइ छ । तराई आन्दोलन र भारतले नेपाल विरुद्ध अघोषित रुपमा लगाएका नाकाबन्दीका कारण चितवनमा मल आउन नसक्दा किसानले रासायनिक मल पाएका थिएनन् । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष तुलनात्मक रुपमा मल कम माग हुने गौतमको भनाइ छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले चितवनका एक सय २० वटा साना किसान सहकारी मार्फत रासायनिक मल बिक्री गर्दै आएको छ । कम्पनीले एक पटकमा एउटा सहकारीलाई एक हजार बोरा यूरिया, एक हजार बोरा डिएपी र ५० बोरा पोटास बिक्री गर्दै आएको गौतमले बताए ।
कृषि सामग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद ऐन अनुसार सोझै रायानिक मल खरिद गर्न नमिल्ने भएकाले ग्लोबल टेन्डरको आह्वान गर्नुपर्ने हुन्छ । टेन्टर आह्वानपछि मल नेपाल आइपुग्न पाँच महिनासम्म लाग्ने गर्दछ । यसरी आउने मलमा टेन्टर पाउने व्यक्तिले मलको मूल्य बढेको अवस्थामा मल आपूर्ति नगरी भाग्ने कारणले पनि मलको अभाव हुने गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारबाट मल ल्याउँदा पानी जहाजमा ल्याउनुपर्ने भएकाले बन्दरगाहमा समेत पानी जहाजमा नै सामान बस्ने अवस्था आउने गौतमले बताए । भारतले पहिले आफ्नो सामानलाई प्राथमिकतामा राखेर मात्र नेपालको सामान पानी जहाजबाट निकाल्न दिने गरेका कारण समेत मल आउन समय लाग्ने गरेको छ । यस वर्ष कृषि सामग्री संस्थानले बेलैमा मलको टेन्डर आह्वान गरेका कारण समेत चितवनका किसानहरुले मलको अभाव भोग्न नपर्ने गौतमले बताए ।
चितवनका खाद्यभूमिहरु ‘प्लटिङ’मा परिणत भएका कारण अघिल्लो वर्षहरुमा जस्तै मल खपत नहुने सम्भाना समेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published.