राजस्व संकलनमा सुधार

चितवन, ११ जेठ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको १० महिनामा नौ अर्ब रुपैयाँ भन्दा बढी रकम राजस्व असुली गरेको छ ।
आर्थिक वर्ष २०७२÷०७३ को साउनदेखि वैशाख मसान्तसम्म कार्यालयले कुल नौ अर्ब पाँच करोड २९ लाख २१ हजार रुपैयाँ राजस्व असुली गरेको हो । कार्यालयले चालु आर्थिक वर्षको वैशाख महिनासम्म नौ अर्ब २१ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । कार्यालयले संकलन गर्नुपर्ने कुल राजस्व भन्दा १६ करोड रुपैयाँ कम राजस्व असुली गरेको भएपनि अघिल्लो महिनामा भन्दा राजस्व असुली बढेको देखिन्छ ।
कार्यालयले वैशाख मसान्तसम्ममा लक्ष्यको ९८ दशमलब २१ प्रतिशत राजस्व असुली गर्न सफल भएको छ । गत वर्ष भारतले नेपाल विरुद्ध लगाएको अघोषित नाकाबन्दीका कारण राजस्व असुलीमा प्रभाव परेको भएपनि पछिल्लो समय राजस्व संकलनमा सुधार हुँदै आएको छ । कार्यालयले आगामी असार मसान्तसम्म ११ अर्ब रुपैयाँ राजस्व असुली गर्नुपर्ने लक्ष्य पाएको छ । कार्यालयले वक्यौती रकम असुलीलाई प्राथमिकता दिएका कारण आगामी असार मसान्तसम्ममा लक्ष्य अनुसारको प्रगति हासिल गर्न सक्नेमा प्रमुख कर अधिकृत टिकारा भुषाल विश्वस्त छन् ।
कार्यालयले वैशाख मसान्तसम्ममा अन्तशुलक वापत सबैभन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले अन्तशुल्कमा १० महिनामा सात अर्ब ८२ करोड ५८ लाख ५२ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएकोमा सात अर्ब ६० करोड २० लाख ५८ हजार रुपैयाँ राजस्व असुली गरेको छ । कार्यालयले चैत मसान्तसम्ममा पाएको लक्ष्य भन्दा करिब ४६ करोड रुपैयाँ कम राजस्व असुली गरेकोमा अहिले जम्मा १६ करोड मात्र कमी असुली गरेको छ ।
आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत टिकाराम भुषालले नाकाबन्दी पछि आएको आर्थिक क्रियाकलापमा सुधार आउनु नै राजस्व असुलीमा सुधार आउनुको कारण भएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published.