भव्य कार्यक्रम सहित बुद्ध जयन्ती मनाइयो

चितवन, ८ जेठ । शनिबार परेको भगवान बुद्धको २५६० औ जन्म जयन्ती एव लुम्विनी दिवसको अवसरमा मुकुलभर विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइएको छ । अहिले लुम्विनीमा लुम्विनी दिवस प्रारम्भ भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्वलन गरी २५६० औँ बुद्ध जयन्ती समारोहको लुम्विनीमा उद्घाटन गरेकी थिइन् । बुद्ध जयन्तीका अवसरमा लुम्विनीमा २८ देशबाट ३५० भन्दा बढी बौद्ध धर्मगुरु सहित स्वदेशी र विदेशी गरी करीब १५ हजार धर्मावलम्वीको सहभागिता रहेको छ । यसअघि राजधानीमा दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरिरहेको थियो ।
यसैबीच, चितवनमा पनि विविध कार्यक्रम सहित २०६०औँ बुद्ध जयन्ती मनाइएको छ । वुद्ध जयन्तीको अवसर पारेर भरतपुरको तीन खोलेमा रहेको महा बौद्ध गुम्बामा बुद्ध जयन्ती कार्यक्रम गरिएको हो । बौद्ध धर्म सेवा समिति चितवनले आयोजना गरेको कार्यक्रममा शनिबार बिहानैदेखि पूजापाठ सहित औपचारिक कार्यक्रम गरि २५६०औं बुद्ध जयन्ती मनाएको छ । तर, यस वर्ष पूर्व निर्धारित कार्यक्रमहरु भने रोकिएको आयोजक समितिले जनाएको छ ।
आयोजक समितिका अध्यक्ष गणेशबहादुर गुरुङका अनुसार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद चितवनका सचिव रामकृष्ण गुरुङ सहित ११ जनाको ज्यान जाने गरि यहि जेठ ६ गते लम्जुङको जिताकोटमा भएको सवारी दुर्घटनाका कारण पूर्व निर्धारित कार्यक्रमहरु कटौती गरेको हो । गुरुङ राष्ट्रिय परिषद चितवन र बौद्ध धर्म सेवा समिति चितवनको हिजो बसेको आकस्मिक बैठकले योजना बनाएअनुसार तामझामका साथ कार्यक्रम नगर्ने निर्णय भएकोले पूजापाठ र औपचारिक कार्यक्रम गरि सहयोगी दाताहरुलाई सम्मान गरेर बुद्ध जयन्ती मनाएको आयोजक समितिका अध्यक्ष गुरुङले जानकारी दिए ।
कार्यक्रममा गुम्बा विकास समिति तथा बुद्ध दर्शन प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न शीर्षकहरुमा सहयोग गरि अमूल्य योगदान पु¥याएको भन्दै २९ जना दाताहरुलाई सम्मान गरिएको हो । कार्यक्रमको अवसरमा गुम्बाभित्र निर्माण गरिएको विश्राम गृहको समेत उद्घाटन गरियो । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति काठमाडौँका कार्यकारी निर्देशक नरेन्द्र कुमार गुरुङले विश्राम गृहको उद्घाटन गरेका थिए ।
बौद्ध गुम्बा सहित गुरुङले गुम्बा परिसर भित्र निर्माण भएको प्रमुख लामा निवासको समेत उद्घाटन गरेका थिए । कार्यक्रम उद्घाटनका क्रममा गुरुङले सरकारले ढिलै भएपनि सरकारले बुद्ध नेपालमा जन्मिएका हुन् भनेर कार्यक्रम गर्नुलाई सबैले राम्रो मान्नुपर्ने बताए । गौतम बुद्धको जन्म नेपालमा भएकाले उनको जन्म नेपालमा भएको हो भनेर अन्तराष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्नु सुखद् कुरा भएको उल्लेख गरे ।