अपांगता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

चितवन, ८ जेठ । राज्यले अपांगता भएका ब्यक्तिहरुको माग सम्बोधन गर्न नसक्दा उनीहरुलाई थप पीडा भएको सरोकारवालाहरुले बताएका छन् ।
अपांग समाज चितवनले शनिबार आयोजना गरेको निशुल्क ह्वील चियर, सेतो छडी, बैशाखी र कृत्रिम खुट्टा बितरण कार्यक्रममा बोल्दै उनीहरुले अपांगता भएका व्यक्तिलाई राज्यले विशेष व्यवस्था गर्नुपर्ने बताए । राज्यले अपागंता भएका ब्यक्तिहरुलाई उचित सेवा सुविधा दिन नसकेको उनीहरुको गुनासो रहेको छ ।
साङ्ग व्यक्तिले नीति नियम निर्माण गर्नाले अपाङगहरु समस्या समाधान हुन नसकेको अपाङपता भएकाहरुले आरोप लगाएका छन् । साङ्ग व्यक्तिहरुले अपाङ्गता भएकाहरुको समस्याहरु पहिचान गर्ने तथा पिर मर्का बुझन नसक्ने भएकाले अपाङगता भएकाहरुको जिवन स्तरमा सुधार हुन नसकेको उनीहरुले गुनासो गरेका छन् । अपागंता हाल विश्वकै लागि चुनौति बन्दै गएको भन्दै उनीहरुले राज्यले अपागंता भएका ब्यक्तिहरुको माग चाडै सम्बोधन गर्नुपर्ने भनाई रहेको थियो ।
कार्यक्रममा बोल्दै अपांग समाज चितवनका अध्यक्ष अम्विकालाल श्रेष्ठले अपागंता भएका ब्यक्तिहरुलाई राज्यले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुविधा दिनुपर्ने बताए । विभिन्न क्षेत्रहरुमा अपागंता भएका ब्यक्तिहरु पछाडि पर्ने गरेको भन्दै उनले आफ्नो हक र अधिकारको सुनिश्चितताको लागि सबै अपागंता भएका ब्यक्तिहरु एकजुट भएर लाग्नुपर्ने बताए । पछिल्लो समय यातायातको सुविधा बाट पनि अपागंता भएका ब्यक्तिहरु पछाडि परेको भन्दै उहाले ट्राफिक प्रहरी कार्यालयले यसको अनुगमन गर्नुपर्ने श्रेष्ठले बताए ।
कार्यक्रममा ह्वील चियर ३० थान, सेतो छडी १० थान, बैशाखी १० थान, ट्राईसाईकल १० थान र कृतिम खुट्टा १ थान बितरण गरिएको थियो । राष्ट्रिय अपांग पुर्ननिर्माण समाज काठमाण्डौ र भरतपुर उपमहानगरपालिकाको सहयोगमा भएको सो कार्यक्रममा लेटर डे साईन्ट च्यारिटिजले सामग्री उपलब्ध गराएको हो । कार्यक्रममा भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेस बराल प्र्रमुख अतिथि रहेका थिए ।