“हाम्रो संस्कृति र संस्कार”माथि अन्तरक्रिया

चितवन, ८ जेठ । प्रगतिवादी साहित्यकार रणेन्द्र वरालीद्वारा लिखित हाम्रो संस्कृति र संस्कार नामक पुस्तक माथी शनिबार अन्तरक्रिया गरिएको छ ।
प्रगतिशील लेखक संघ चितवनले शनिबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा उक्त पुस्तक माथी अन्तरक्रिया गरिएको हो । पुस्तकका विषयमा टिप्पणी गर्दै संस्थाकी केन्द्रीय सदस्य सरिता तिवारी र डि आर पोखरेलले मान्छेले जन्म लिएपछि पालना गर्नुपर्ने संस्कार र संस्कृतिको बारेमा लेखक बरालीले आकर्षक तवरले वर्णन गरेका थिए ।
उनीहरुले यस्तो पुस्तक तयार गर्न पक्कै पनि निकै मेहेनत लाग्ने उल्लेख गर्दै पुस्तकको अध्ययन गर्न सकेमा धर्म, संस्कृति, संस्कार लगायतका विषयमा व्यक्तिलाई भरपूर जानकारी प्राप्त हुने बताए । यही कारणले पुस्तकको अध्ययन गर्न उनीहरुले कार्यक्रमका सहभागीहरुलाई आग्रह समेत गरेका छन् ।
वरिष्ठ वामपन्थी बुद्धिजीवि तथा संस्कृति चिन्तक हरी गोविन्द लुईटेल प्रमुख अतिथि रहेका सो कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य प्रकाश चापागाई, सल्लाहकार धनेश्वर भट्टराई, सल्लाहकार रविकिरण निर्जिव, समीक्षक उदय अधिकारी, कवि भूपिन, लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षतामा भएको हो ।