जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता हुने

चितवन, ८ जेठ । गणतन्त्र दिवसको अवसर पारि जेठ १५ गते चितवनमा अन्तर माध्यमिक विद्यालय टेबलटेनिस प्रतियोगिता हुने भएको छ ।
नेपाल टेबल टेनिस संघ चितवनको आयोजनामा हुन लागेको प्रतियोगितामा चितवनका सम्पूर्ण माध्यमिक तहका विद्यालयहरुलाई सहभागिताको लागि आग्रह गरिएको छ । खेलको बारेमा जानकारी दिने उद्देश्यले संघले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष मनोज तामाङले एउटा विद्यालयबाट तीन वटा समूहको प्रतिष्पर्धामा भाग लिन पाउने बताए । पुरुष सिंगल, महिला सिंगर र जोडी समूहले खेलमा भाग लिनसक्ने तामाङको भनाइ थियो ।
प्रतियोगितामा पहिलो हुने समूहले पाँच हजार रुपैयाँ, दोस्रो हुने समूहले तीन हजार रुपैयाँ र तेस्रो हुनेले दुई हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । खेलमा सहभागिता जनाउनको लागि एउटा समूहले सय रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्ने संघका अध्यक्ष उज्ज्वल श्रेष्ठले बताए । प्रतियोगितामा भाग लिनको लागि जिल्ला खेलकुद विकास समिति चितवनको कार्यालयबाट फारम उपलब्ध भइरहेको श्रेष्ठले बताएका छन् ।
खेल आगामी जेठ १५ गते बिहान ८ बजेदेखि भरतपुरमा रहेको कबर्ड हलमा हुने बताइएको छ । खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजाल प्रमुख अतिथि रहेको कार्यक्रम नेपाल टेबल टेनिस संघ चितवनका अध्यक्ष उज्ज्वल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।