मदन आश्रित दिवसमा मानव सेवामा खाना खुवाइयो

चितवन, ३ जेठ । २३औं मदन आश्रित स्मृति दिवसको अवसर पारेर अनेरास्ववियू चितवनले मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई खाना खुवाएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका पूर्व केन्द्रीय सदस्य सुदीप रेग्मीको सहयोगमा अनेरास्ववियूले सोमबार खाना खुवाएको हो ।
जन नेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको पूण्य तिथिमा असहाय व्यक्तिहरुलाई खाना खुवाउँदा अखिलको सामाजित उत्तरदायित्व समेत बहन हुने जिल्ला अध्यक्ष देव पाठकले बताए । अनेरास्ववियूका विद्यार्थीहरुको उपस्थिति हरेक ठाउँमा छ भन्ने देखाउनको लागि समेत अखिलले मानव सेवा आश्रममा खाना खुवाएको पाठकको भनाइ छ । समाज परिवर्तन भएसँगै अखिलले विद्यार्थीहरुका मुद्दाहरुमा मात्र आवाज उठाएर नपुग्ने भएकाले सामाजिक सेवाको पाटोमा समेत आफूहरु अग्रसर रहेको पाठकले बताए ।
भरतपुरको १० नम्बर वडामा रहेको मानव सेवा आश्रममा ४० जना व्यक्तिहरु आश्रित रहेका छन् । विभिन्न कारणले घरबार छोडेर बेवारिसे अवस्थामा सडक किनारमा बस्दै आएका व्यक्तिहरुको उद्धार गरेर आश्रममा राखिएको हो । कोही पनि व्यक्ति घरबार बिहिन नहुन् भनेर आश्रमले गत कात्तिकदेखि चितवनमा असहाय व्यक्तिहरुलाई उद्धार गर्दै आश्रममा राखेको छ ।

.