ईरिक्सा व्यवस्थित गर्न माग गर्दै ज्ञापनपत्र

चितवन, ३ जेठ । यातायात व्यवस्था मन्त्रायको परिपत्र लागू गर्नुपर्ने भन्दै चितवनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नारायणी अञ्चल समिति चितवनले स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएको छ । २०७२ साल फागुन ६ गते मन्त्रालयबाट इरिक्साको विषयमा भएको पत्राचालाई चितवनमा पूर्ण रुपमा कार्यान्वय गर्नुपर्ने व्यवसायीको माग रहेको छ ।
मन्त्रालयले गरेको परिपत्र अनुसार ईरिक्साहरु राजमार्ग भन्दा भित्रबाट सञ्चालन हुनुपर्ने रहेको छ । व्यवसायीले ईरिक्साको रुट परमिट तत्काल बन्द गर्नुपर्ने, ईरिक्सालाई राजमार्ग भन्दा भित्री बाटोमा मात्र सञ्चालन गराउनुपर्ने माग राख्दै सोमबार चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंह समक्ष ज्ञापनपत्र बुझाएका हुन् । ईरिक्साहरुले मनपरी रुपमा भाडा असुल गरेको उल्लेख गर्दै चित्रवन ट्याक्सी तथा मझौला व्यवसायी संघका अध्यक्ष खड्ग बहादुर गुरुङले टेम्पो र म्याजिक भ्यानले भन्दा बढी भाडा लिन नपाउने व्यवस्था कायम गर्न माग गरे ।
म्याजिक भ्यानलाई जसरी स्थानीय प्रशासनबाट कडाइ गरिन्छ त्यसैगरी ईरिक्साको चेकजाँचमा समेत कडाइ गर्नु पर्ने गुरुङको भनाइ थियो । ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नारायणी अञ्चल संयोजक कपिल पाण्डेले ईरिक्साले सातजनासम्म यात्रु चढाउँदा समेत कुनै कारबाही नभएको बताए । भरतपुर भित्र तीन सय चार वटा ईरिक्सा सञ्चालन गर्न दिने सहमति भएपनि हचुवाको भरमा धेरै ईरिक्सालाई रुट परमिट प्रदान गरिएको पाण्डेको भनाइ छ ।
भरतपुर उपमहानगरपालिकामा दर्ता भएका नौ सय वटा परम्परागत रिक्सालाई विस्थापित गर्दै तीन सय वटा मात्र ईरिक्साको मात्र रुट प्रदान गर्ने सहमति भएपनि अहिले त्यसको दोब्बर ईरिक्सा सञ्चालनमा रहेका पाण्डेले बताए । जेठ ९ गतेसम्म आफूहरुको मागको सुनुवाई गर्नको लागि कपिल पाण्डेले प्रजिअ समक्ष माग गरे । जेठ ९ भित्र आफूहरुको मागको सम्बन्धमा सुनुवाई नभएमा जेठ १० गते पत्रकार सम्मेलन गरि आन्दोलनको घोषणा गर्ने पाण्डेले बताए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले व्यवसायीहरुको मागका विषयमा आफू गम्भीर रहेको बताए ।