विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जेठ ०३ । भरतपुर उपमहानगरपालिकाको वडा नम्बर ८ र ९ का सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यार्थीहरुलाई नियमित विद्यालय जान सहज होस् भनेर गरिब तथा जेहेन्दार विद्यार्थीको लागि वडा नागरिक मञ्चले शैक्षिक सामग्री वितरण गरेको थियो ।
भरतपुर उपमहानगरपालिका वडा नम्बर ९ को वडा नागरिक मञ्चले आयोजना गरेको कार्यक्रम वडा नम्बर ९ बाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा मन्तव्य राख्दै भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले यसरी शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थीलाई हौसला मिल्ने बताए । आर्थिक अभावमा कोही पनि विद्यार्थी शिक्षा क्षेत्रबाट बाहिर रहन नपरोस् भनेर शैक्षिक सामग्री वितरण गरिएको बरालको भनाइ थियो । विद्यार्थीहरु छनौट गर्दा सकेसम्म गरिब, जेहेन्दार छनौट गरिएको बरालले बताए ।
लक्षित वर्गको कार्यक्रम अन्गर्तत विद्यार्थीलाई शैक्षिक सामग्री विरतण गरिएको हो । कार्यक्रममा भरतपुर उपमहानगरपालिकाका सामाजिक शाखा अधिकृत तुलसी श्रेष्ठले भरतपुरलाई २०७६ सालसम्म बालमैत्री नगर घोषणा गर्ने उद्देश्य अनुसार बालमैत्री कार्यक्रम आयोजना गर्दै गइने बताए । सबै बालबालिका विद्यालय पहुँचमा पुग्न सकुन् भनेर शैक्षिक सामग्री वितरण गरिएको श्रेष्ठको भनाइ थियो ।
आइतबार वितरण गरिएको शैक्षिक सामग्री प्रति विद्यार्थी करिब दुई हजार चार सय रुपैयाँ बराबरको रहेको बताइएको छ । उक्त कार्यक्रममा विद्यार्थीको लागि विद्यालय पोशाकको सर्ट, पाइन्ट, झोला र जुत्ता रहेको थियो ।

.