हत्या भएको २३ वर्षमा समेत हत्यारा पत्ता लागेनन्

चितवन, ३ जेठ । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको सडक दुर्घटनामा परि निधन भएको २३ वर्ष पुरा भएको छ । वि.सं.२०५० साल जेठ ३ गते पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा जिप चालक अमर लामा जिवित रहनु र पछि उनको हत्या हुनुले नागरिकले दुर्घटना रहस्यमय मान्दै आएका छन् । भण्डारी र आश्रित चढेको गाडी दासढुङ्गामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै नेकपा एमालेले मदन आश्रित दिवस मनाउने गरेको छ । नेकपा एमाले चितवनले मदन आश्रित स्मृति दिवसको कार्यक्रम चितवनको दासढुङ्गामा प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख आश्रितको सडक दुर्घटनाबारे अनुसन्धान नगरेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।
नेकपा एमालेका द्वय नेताको हत्या भएको भनेर नेकपा एमालेले नै भन्दै आउनुका साथै पटक पटक सरकारको नेतृत्व समेत सम्हालिसकेको एमालेले दासढुंगा घटनाको सत्यतथ्य पत्ता लगाउन नसक्नु ठूलै कमजोरी भएको पार्टी पंक्तिमा कुरा उठ्दै आएको छ । नेकपा एमाले चितवनका तत्कालिन जिल्ला सचिव विजय सुवेदीले घटनापछि आफू दुर्घटना स्थल पुगेको र घटनाको प्रकृति हेर्दा दुर्घटना नभइ हत्या भएको बताउँछन् । जिप चलाउने चालक अमर लामाको बयान समेत झुटो भएको आफूले बुझेको र उनको समेत हत्या भएको अवस्थामा घटनाको रहस्य झनै बढेको सुवेदीले बताए ।
मदन भण्डारीलाई आफूले ४४ सालदेखि चिन्दै आएको बताउने नेकपा एमाले चितवनका वर्तमान अध्यक्ष जगन्नाथ थपलियाले भण्डारीलाई सिद्धान्तका धनी, अद्वितीय राजनीतिक क्षमता, नम्र व्यवहार र राष्ट्रियता प्रति प्रेम गर्ने नेताका रुमा चिनाउँछन् । दक्षीण एशीयाकै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने नेताको रुपमा आफूले भण्डारीलाई चिनेको थपलिया बताउँछन् । मदन आश्रितको विचार, राजनीतिक जीवनलाई लिएर उनको हत्या गरिएको थपलियाको भनाइ छ ।
जन नेता मदन भण्डारीलाई आफूले नेपाली राजनीतिक आकाशका उज्ज्वल नक्षत्र, एक स्वप्न द्रष्टा, समृद्ध नेपाल र स्वाधिन नेपाल निर्माणको एउटा कलाकर्मीको रुपमा चिनेको नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य देवि ज्ञवाली बताउँछन् । समाजलाई रुपान्तरण गर्ने दिशामा शक्ति सन्तुलनको अवस्था हेर्दै विश्व परिस्थितिको यथार्थ मूल्यांकनकर्ता, नेपाली समाजको प्रजातान्त्रिक, लोकतान्त्रिक र प्रगतिशिलता चरित्र हेर्दै अगाडि बढ्ने नेताको रुपमा आफूले भण्डारीलाई लिएको ज्ञवालीको भनाइ छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले दासढुंगा घटना दुखदायी भएकोले यसलाई गम्भिरता पूर्वक लिनुपर्ने बताउँछन् । दासढुंगा घटनाको सत्यतथ्य पत्ता लगाउन सरकार र एमालेकै तर्फबाट टोली बनेको भएपनि यसले दोषी पत्ता लगाउन नसकेको खनाल बताउँछन् । दासढुंगा घटनाका सम्बन्धमा एमालेले जति चासो लिनुपर्ने थियो त्यति चासो नलिएको खनालले आरोप लगाए ।
मदन कुमार भण्डारी र जीवराज आश्रितको स्मृतिमा नारायणगढ–मुग्लिङ सडक खण्डलाई मदनआश्रित सडक खण्डका रुपमा चिनिएको थियो । यद्यपि माओवादीका तर्फबाट डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उक्त सडक खण्डको नाम परिवर्तन गरेर रामराजा राजमार्ग राखियो । भट्टराईको कार्यशैली प्रति चितवनका जनताले गुनसो गरेपनि एमालेका तर्फबाट खासै चासो र दबाब दिइएन । मदन–आश्रितको हत्यामा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गरि उनीहरुलाई कारबाही गर्ने चुनौति एमालेलाई रहेको छ ।