विद्युत लाइन बिस्तारमा ९४ हेक्टर वन फडानी

आनन्द पोखरेल
चितवन, ०३ जेठ । चालु आर्थिक वर्ष २०७२/०७३ मा चितवनमा विद्युत प्रसारण लाइन विस्तारको लागि ९४ हेक्टर भन्दा बढी जंगल फडानी भएको छ ।

ban

दुई सय २० केभी प्रसारण लाइन बिस्तार तथा सब स्टेशन निर्माणको लागि चितवनमा उक्त वन फडानी भएको जिल्ला वन कार्यालय चितवनले जनाएको छ । चितवनका विभिन्न सामुदायिक वनमा पर्ने उक्त क्षेत्रफलको वन निर्माण भएको जनाइएको छ । विद्युत लाइन विस्तारको लागि सामुदायिक वनमा रहेका सालका रुखहरु धेरै फडानी भएका छन् । विद्युतको लाइन विस्तारको लागि हाइटेन्सन तार टाँगेको ठाउँमा ३० मिटर भित्र पर्ने रुखहरु काटिएको चितवनका जिल्ला वन अधिकृत गणेश रायले बताए ।

चितवनको नवजागृति सामुदायिक वन, जय ब्रम्हस्थानी सामुदायिक वन, शिखर हरियाली सामुदायिक वनलगायत एक दर्जन सामुदायिक वनका रुखहरु काटिएको रायले बताए । त्यसैगरी, राष्ट्रिय वन र निकुञ्जको स्वामित्वमा रहेको वनका रुखहरु समेत विद्युत लाइन विस्तारको लागि काटिएको रायले जानकारी दिए । ९४ हेक्टर रुख कटानी भएपछि त्यसको क्षतिपूर्ति स्वरुप रुखहरु रोप्नुपर्ने व्यवस्था भएको समेत रायले बताए । रुख रोप्नको लागि विभिन्न सामुदायिक वनहरुसँग सम्झौता गर्ने तयारी भएपनि पर्याप्त जग्गा नहुदा समस्या परेको रायको भनाइ छ ।

चालु आर्थिक वर्षमा काटिएका रुखको क्षतिपूर्ति स्वरुप चितवनको दुई सय हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्नुपर्ने गरि कार्यालयले विरुवा हुर्काएको समेत रायले बताए ।