खाजा कटाएर वृद्धाश्रमलाई सहयोग (भिडियो सहित)

देवघाट, ०२ जेठ । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले देवघाट क्षेत्र विकास समितिलाई आर्थिक सहयोग गरेको छ । क्षेत्र विकास समितिको वृद्धाश्रम सञ्चालनका लागि निर्माण गरिएको अक्षयकोषमा रहने गरी आइतबार संस्थाका प्रतिनिधिहरुले ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

sahayog

संस्थाले तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा देवघाट क्षेत्र विकास समितिलाई सहयोग गरेको जनाइएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रीय सचिव रामजी शर्माले विदेशमा रहेका नेपालीहरुले खाजा खाने रकम कटाएर अप्ठारोमा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको उल्लेख गरे । विगतदेखि नै सामाजिक काममा अग्रसर हुँदै आएको संस्थाले सरकारको उपस्थिति पुग्न नसकेको ठाउँमा समेत आफूहरुले सहयोग गर्दै आएको शर्माले बताए ।

विदेशमा रहेका नेपालीहरुले सञ्चालन गरेको संस्थाले दुखी पीडितहरुको लागि काम गर्दै आएको संस्थाका नेपाल समन्वय समिति संयोजक गणेश जिसीले बताए । थोरै थोरै रकम जम्मा गर्दै संस्था स्थापना गरिएकाले असहाय व्यक्तिहरुलाई सहयोग गर्न पाउँदा खुसी लाग्ने जिसीको भनाइ थियो ।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र कुमार पियाले एक करोड रुपैयाँको अक्षय कोष बनाउने योजना रहेकोले सहयोग प्राप्त भएको रकमलाई कोषमा जम्मा गर्ने बताए । क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको वृद्धाश्रम सरकारी भएपनि यो आफैमा सक्षम बन्नका लागि बामे चल्दै गरेको अवस्थामा सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको पियाको भनाइ थियो ।

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था नेपाल समन्वय समितिका संयोजक गणेश जिसीको अध्यक्षतामा भएको कार्यक्रममा तनहूँ राइपुर गैंडाकोट सम्पर्क मञ्चका अध्यक्ष एवम् संस्थाका शुभेच्छुक रामचन्द्र सिग्देल, नवप्रवेशी सदस्य जीवनराज वन्तलगायतले मन्तव्य राखेका थिए ।

यसैबीच, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका अध्यक्ष रामशरण बानियाँले आफ्नी स्वर्गीय आमाको सम्झनामा एक छाक खाना खुवाउने रकम समेत क्षेत्र विकास समितिलाई प्रदान गरेका छन् । इजरायलमा रहेका बानियाँले आफ्नी बहिनी पार्वती घिमिरे मार्फत छ हजार रुपैयाँ क्षेत्र विकास समितिलाई बुझाएका हुन् ।

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला