चितवनमा लागु औषध ओसारपसारका घटनामा वृद्धि

चितवन, ०१ जेठ । चितवनमा लागूऔषध ओसारपसारका घटनाहरुमा कमी आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक हेर्दा चालु आर्थिक वर्षमा ५५ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन् ।

महिनामा तीनदेखि नौ वटासम्म लागूऔषध ओसारपसारका घटनाका आरोपी पक्राउ पर्ने गरेका छन् । यो वर्ष लागूऔषध ओसारपसारमा संलग्न ९५ जनामध्ये ९४ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७१/७२ मा ५८ वटा घटना दर्ता भएका थिए ।

एक सय तीन जना अभियुक्तमध्ये ९६ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७०/७१ मा ६४ वटा घटना भएका छन् । एक सय ३४ जना अभियुक्तमध्ये एक सय १४ जना पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । घटनाको दर तीन वर्ष यता समान छ । विगतमा ओसारपसारमा संलग्नमध्ये सबै पक्राउ गर्न प्रहरी चुकेको थियो ।

तर यो वर्ष घटनामा संलग्न प्राय सबै पक्राउ गरि कारवाहि प्रक्रिया अघि बढाइएको छ । आर्थिक वर्ष ०६७/६८ मा चितवनमा लागूऔषधका ११ वटा मुद्दा मात्रै दर्ताहुदा २७ जना पक्राउ परेका थिए ।

आर्थिक वर्ष ०६८/६९ २४ वटा मुद्दा दर्ता भएकोमा ४७ जना, २०६९/७० मा ३८ वटा मुद्दा दर्ता हुदा ६४ जना पक्राउ परे । पक्राउ पर्नेमा धेरै अन्य जिल्लाका परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कु“वरले चितवनको भूभाग हुँदै लागूऔषध ओसारपसार गर्ने क्रम बढ्न थालेको बताए । भारतको त्रिवेणी नाका र रक्सौलबाट चितवन हुँदै लागूपदार्थ भिœयाउने क्रम बढेको कुँवरले बताए ।

लागुपदार्थ ओसारपसारको केन्द्र बन्न थालेपछि प्रहरीले चेकजा“च तथा निगरानी बढाएको छ । गोन्द्राङ, पुल्चोक, बसपार्क क्षेत्र, नारायणी नदी किनार, क्यान्सर पछाडीको क्षेत्र लगायतका स्थानहरुमा प्रहरीले कडा निगरानी गरेको छ ।

अभिभावकले बढी स्वतन्त्र छाड्ने, निगरानी नगर्ने, संगतको प्रभाव, आर्थिक प्रलोभन जस्ता कारणले यूवा समुह दुव्यर्सनमा पर्ने गरेको छ । डाइजोपाम, व्युप्रिनोर्फिन, फेनारगन, फेन्सिडिल नाइटोजेपाम, खैरो हेरोइन जस्ता लागूऔषध ओसारपसरामा संलग्न तथा प्रयोगकर्तालाई पक्रदै आइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दीपक श्रेष्ठले यूवाहरु लागूऔषध ओसारपसारमा बढी संलग्न पाइएकाले यूवाहरुलाई सचेत पार्ने काम सुरु भएको बताउँछन् । विद्यालयमै पुगेर विद्यार्थीलाई लागूऔषधका बेफाइदा र कानुनी सजायबारे जानकारी गराउन प्रशिक्षण दिइएको श्रेष्ठले बताए । यस वर्ष दुई दर्जन विद्यालयमा प्रहरीले सचेतना कार्यक्रम गरिसकेको र यसलायई अझै निरन्तरता दिने श्रेष्ठको भनाइ छ ।