१ अर्ब लगानीमा १५ पुल बन्दै

 

चितवन, ३१ वैशाख । चितवन र धादिङमा गरी हाल १५ वटा मोटर पुल बनिरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यालयको मातहतमा निर्माण भइरहेको चितवन पोष्टमा खबर छ ।
कुल १ अर्ब ८ करोड ६१ लाख ६४ हजार ३७१ रुपैयाँ लागतमा १५ वटा पुल निर्माण कार्य भइरहेकोे कार्यालयका प्रवक्ता ई.गजेन्द्रबहादुर चन्दले जानकारी दिए । केही पुल यसै आर्थिक वर्ष भित्रमा र केही आगामी आर्थिक वर्ष भित्रमा पूरा हुने उनले जनाए ।
चितवनमा ४ र धादिङमा ११ वटा मोटर पुल बनिरहेको प्रवक्ता चन्दले बताए । चितवनमा निर्माणाधीन २ वटा पुलको काम अन्तिम चरणमा पुगेको छ । अन्य पुलको ५० प्रतिशत काम पूरा भएको छ ।
चितवनको कयर खोलामा बनिरहेको ६ करोड ९ लाख ३६ हजार लागतको र चैनपुरस्थित बूढी राप्तीमा ३ करोड ४८ लाख ९३ हजार लागतको पुल निर्माण सम्पन्न हुन लागेको छ । २४ करोड १९ लाख ६७ हजारको लागतमा ठिमुरा देवघाटमा र ६ करोड ५ लाख १६ हजार लागतमा पर्साको बूढी राप्ती नदीमाथिको पुल बनिरहेको छ ।
धादिङ जिल्लामा ११ वटा पुल निर्माणधीन अवस्थामा रहेका छन् । बढीजसो पुल पृथ्वी राजमार्गअन्तर्गत नै छन् । यस जिल्लामा कुल सबै पुलहरुको ५० प्रतिशत काम सकिएको प्रवक्ता चन्दले जानकारी दिए ।
५ करोड ४८ लाख ९३ हजार लागतमा बोरेघाट खोलामा, १ करोड ४१ लाख २३ हजार लागतमा महेश खोलामा, ११ करोड १८ लाख ७ हजार रुपैयाँ लागतमा बुंकोटघाट खोलामा मोटर पुल निर्माण भइरहेको छ ।
त्यस्तै १६ करोड १९ लाख १७ हजार रुपैयाँ लागतमा त्रिशुली नदीमा, २ करोड १० लाख ९३ हजार लागतमा धार्के खोलामा, ८ करोड १ लाख १७ हजार लागतमा अंखु खोलामा, १६ करोड २० लाख ६७ हजार लागतमा त्रिशुली नदीमाथि फोस्रोटारमा मोटर पुल निर्माण भइरहेको छ ।
१५ लाख ६६ हजार लागतमा पुंगेनी खोलामा, ३ करोड ६८ लखा २५ हजार लागतमा तुलसी खोलामा, १ करोड ६१ लाख ९५ हजार रुपैयाँ लागतमा बेतरी खोलामा र २ करोड ७२ लाख ९६ हजार लागतमा चिताइ खोलामा मोटर पुल निर्माण भइरहेको प्रवक्ता चन्दले बताए ।
गीता हिमसगरमाथा संरक्षण, लुम्विनी विल्डर्स, पप्पु कन्स्ट्रक्सन, अमर मृत संजीवनी जेभी, अनक कन्स्ट्रसन, रमण कन्स्ट्रक्सन, जय ओम निर्माण, त्रिशुली कन्स्ट्रक्सन, आशिष निर्माण सेवालगायतका ठेकेदार कम्पनीहरुले काम गरिरहेको कार्यालयले जनाएको छ ।
निर्माण सकियो, सञ्चालन भएन
नारायणगढ मुग्लिन सडक खण्डको दासढुंगाबाट तनँहु जाने पुल निर्माण सम्पन्न भएपनि हालसम्म संचालनमा आएको छैन । सडक विभागका इन्जिनियरहरुले पुलको मुख भाग क्षेत्रमा केही पूर्वाधार तयार पार्नुपर्ने भएकाले अझै १ महिना लाग्ने बताएका छन् ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जीप दुर्घटनामा परी निधन भएको दासढुंगा क्षेत्रमा उनीहरुको सम्झनामा पुल निर्माण भएको हो । हरेक वर्ष जेठ ३ गते यस ठाउँमा नेकपा एमालेले श्रद्धाञ्जली सभा गर्दै आएको छ । स्व भण्डारीकी पत्नि विद्यादेवी भण्डारी हाल राष्ट्रपति भएकाले उनीबाटै पुलको उद्घाटन गर्ने कार्यक्रम रहेकाले केही ढिला भएको अनुमान गरिएको छ ।

.