सुगमका चेपाङको पनि व्यथा उस्तै

 

चितवन, ३१ वैशाख । चितवन र वरपरका जिल्लाको पहाडी क्षेत्रमा मुख्य बसोबास भएका अल्पसंख्यक आदिवासी समुदाय चेपाङहरु शिक्षा, स्वास्थ्य, आर्थिक र सामाजिक क्षेत्रमा अरु समुदायभन्दा निकै कमजोर मानिन्छन्  । विकट क्षेत्रमा बसेका कारण उनीहरु पछाडि परेका धेरैलाई लाग्ने गरेको छ । तर, भरतपुर उपमहानगरपालिकाभित्रै बसेका चेपाङहरुको अवस्था र व्यथा पनि पहाडमा बस्नेको भन्दा फरक छैन चितवनपोष्टमा खबर छ ।
भरतपुरको–१ ठिमुरामा झण्डै ४० घर चेपाङको बसोबास छ । ठिमुरालाई उपमहानगरपालिकाभित्रको विकट बस्ती पनि भनिन्छ । तर, त्यहाँ बस्ने अन्य समुदायभन्दा चेपाङहरु कमजोर देखिन्छन् । अरुका घरमा कम्तीमा जस्ताको छानोसम्म छ । चेपाङहरु खरले छाएकै छाप्रोमा बसेका छन् । छाप्रो बनाउने जग्गाको लालपूर्जासमेत छैन । अरुका घरमा झिलिमिली बिजुली बल्दा चेपाङहरुलाई अँध्यारोमै रात काट्नुुपर्ने बाध्यता छ ।
धेरै चेपाङका घरमा मिटर बक्सबिना चोरी गरेर बिजुली बालिएको थियो । चुहावट नियन्त्रण गर्न नेपाल विद्युत् प्राधिकरणले कडाइ गरेपछि गत शनिबार सबैका घरको विद्युत् चोरेको हुक हटाइयो । प्राधिकरणले नियन्त्रणमा लिएर जरिबाना तिराएर छाड्यो । एक घरले आठ हजार रूपैयाँसम्म जरिबाना तिरेका छन् । प्राधिकरणले नगरपालिकाबाट सफारिस ल्याएर आए तत्काल मिटर बक्स जोडिदिने वचन दियो ।
‘मिटर बक्स राख्नका लागि सिफारिस लिन हामी सबैभन्दा पहिला वडा कार्यालय गयौं । तर लालपूर्जा नभएको र नक्सा पास पनि नभएको घरलाई बिजुलीको सिफारिस दिन मिल्दैन भनेपछि हामी हिस्सै प¥यौँ’ ठिमुराका लालबहादुर चेपाङले भने । मिटर बक्स राख्ने सिफारिस दिनु प¥यो भन्ने माग गर्दै उनले टोलका दर्जन व्यक्तिसहित मंगलबार भरतपुर उपमहागरपालिकाका कार्यकारी अधिकृतलाई भेटे ।
‘पहिला लालपुर्जा नभएको जग्गामा पनि मिटर बक्सका लागि सिफारिस दिने प्रचलन नभएको होइन, तर भूकम्पपछि आएको नीतिमा नक्सा पास नभएका र लालपुर्जा नभएका ठाउँमा बनेका घरलाई बत्ती पानीको सिफारिस नदिने भन्ने छ । मैले चाहेर भएन’ भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालको यस्ता कुरा सुनेपछि निराश हुँदै फर्के लालबहादुर र उनका साथीहरु ।
लालबहादुरका बाबु आमा ४० वर्षअघि ठिमुरामा आएका हुन् । उनका बाबु पाँच वर्षअघि बिते । ‘हामी गैंडाकोटमा बस्दथ्यौं । त्यहाँ गर्मी बढी हुने यहाँ सितलो हुन्छ भनेर आएको हो । उहिल्यैदेखि ऐलानी जग्गामै छौं’ लालबहादुरकी आमा ७० वर्षीया सुनिमाया चेपाङले भनिन् । धादिङको धुसा गाविसबाट आएका ६२ वर्षीय हिरालाल चेपाङ पनि सानो छाप्रोमा लालपुर्जा कुर्दै जीवन बिताउँदै छन् ।
‘यहाँ लगभग ४० घर चेपाङ छन् । २६ घर चेपाङको लालपूर्जा नै छैन । वर्षौ बसे पनि लालपुर्जा नभएकाहरु पनि छन् । जग्गा भएर पनि बेचेकाहरु सुकुमबासी भएका पनि छन्’ हिरालालले भने । २० डोका मकै र पाँच पाथी मकै फल्ने जग्गाको भरमा बसेको पूर्णीमा चेपाङले बताइन् ।
ठिमुराको जंगलनजिक चेपाङ बस्ती छ । ‘मिटर बक्स माग्दा नदिने, अनि चोरी रोक्न भन्दै कारबाही पनि गर्ने । मिटर बक्स नदिँदा के चोरी रोकिएला त ? सरकारले के गर्न खोजेको हो हामी त अलमलमा छौं’ पूर्णीमाले भनिन् । जग्गा दर्ताका लागि उनीहरुले विसं २०७१ साल कात्तिकमा सुकुमबासी आयोगमा निवेदन दर्ता पनि गराएका छन् ।
‘हजुरबाहरु नै यहीँ आए, यहीँ बसे । हामी पनि यहाँबाट अन्त कता जाने ? न लालपुर्जा पाउने न बत्ती बाल्न पाउने ? यस्तो मर्कामा हामीहरुलाई किन पारियो बुझ्न सकिएन ?’ लालबहादुरले प्रश्न गरे ।

.