दुई दिने पत्रकारिता तालिम सुरु

चितवन, २९ वैशाख । नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष एवम् नेपाल टेलिभिजनमा कार्यरत पत्रकार अनिता बिन्दुले पत्रकारिताको आचार संहितामा रहेर कलम चलाउन सम्पूर्ण पत्रकारहरुलाई आग्रह गरेकी छिन् ।

भरतपुर उपमहानगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ चितवन संयोजनमा बुधबारदेखि नारायणगढमा शुरु भएको दुई दिने पत्रकारिता क्षमता विकास कार्यक्रमको प्रशिक्षणमा बोल्दै बिन्दुले मर्यादित हुदै पत्रकारिता गर्न आग्रह गरिन् । समाजको विकासमा केन्द्रित भई सकेसम्म सकारात्मक कुराहरुलाई जोड दिएर समाचार प्रशारण एवम् सम्प्रेषण गर्नुपर्ने अनिता बिन्दुको भनाइ थियो । पत्रकारिता गर्ने जो कोहिले पनि देशको संविधान, कानुन, अखण्डता, राष्ट्रियता, जातजाति, भाषाभाषी, धर्म, संस्कृतिलाई खलबल पुग्ने हिसाबले पत्रकारिता गर्नु नहुने धारणा उनको रहेको थियो ।

यसैगरी, पत्रकारहरुले व्यवसायिक हिसाबले समाचार प्रसारण एवम् सम्प्रेषण गर्न नहुने बताउदै विन्दुले व्यवसायिक रुपले पत्रकारलाई विभिन्न संघसंस्थाहरुले प्रदान गर्ने गरेको कुनै पनि पुरस्कार स्वीकार गर्न नहुने समेत बताइन् । सोहि कार्यक्रमै बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सुष्मा पौडेलले पनि निकै संवेदनशील क्षेत्रका रुपमा रहेको पत्रकारितामा कलम चलाउदा विभिन्न व्यक्तिहरुको भाषणलाई भन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

प्रशिक्षण कार्यक्रममा चितवनका विभिन्न संचारमाध्यमका ३० जना पत्रकारहरुको सहभागीता रहेको थियो । प्रशिक्षण कार्यक्रम अघिको उद्घाटन सत्रमा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, समाजसेवी, पत्रकार लगायतको उपस्थिती थियो । भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह प्रमुख अतिथि रहेका थिए ।

.