लागु औषध सहित पाँच जना पक्राउ

आनन्द पोखरेल
चितवन, २९ वैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले लागु औषध सहित पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ । कार्यालयबाट खटिएको प्रहरी टोलीले भरतपुर उपमहानगरपालिका भित्रका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाएको कार्यालयले जनाएको छ ।
मंगलबार र बुधबार पक्राउ गरिएको पाँच जनाहरुलाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले बताए । प्रहरीले मंगलबार बिहान भरतपुरको ८ नम्बर वडाबाट विभिन्न लागु पदार्थ सहित तीन जनालाई पक्राउ गरेको कुँरले जानकारी दिए । प्रहरीले नाइट्राजेपाम पाँच सय ट्याब्लेट, एक किलो पाँच सय ३० ग्राम गाजा, स्पास्मो प्रोक्भोन एक सय ५२ क्याप्सुल र लागु औषध कोरेक्स जस्तो देखिने चार लिटर तरल पदार्थ सहित तीन जनालाई भरतपुर ८ बाट पक्राउ गरेको कुँवरले बताए ।
लागु औषध सहित मंगलबार प्रहरीले भरतपुर ९ बस्ने २८ वर्षका अशोक प्रकाश थापामगर, भरतपुर १२ का २८ वर्षीय रचन कार्की र भरतपुर १२ कै २३ वर्षीय शम्भु विकलाई प्रहरीले पक्राउ गरेको कुँवरले जानकारी दिए । भरतपुर ८ सल्यानीमा रहेको आले फर्म हाउसमा विक्री वितरणको लागि लागु औषध लुकाइ राखेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जना व्यक्ति सहित विभिन्न लागु औषध बरामद गरेको कुँवरले बताए ।
फार्म हाउसमा पुग्दा अशोक प्रकासले बंगुरको खोरमा लुकाइ राखेको अवस्थामा लागु औषध फेला परेको र उनैको बयानका आधारमा लागु औषध खरिद विक्रीमा संलग्न रचन कार्की र शम्भु बिकलाई समेत पक्राउ गरिएको कुँवरको भनाइ छ ।
त्यसैगरी, भरतपुर १० बाट बुधबार बिहान १८ थान डाइजेपाम, १८ थान ब्रुफिनर्फिन र १८ थान फेनारगन सहित दुई जना कारोबारेलाई समेत पक्राउ गरिएको कुँवरले बताए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलाई भरतपुर ओरालोमा देखेर भाग्दै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर खोजतलासी गर्दा लागु औषध भटिएको बताइएको छ ।
खोज तलासीको क्रममा मेघौली ८ का २५ वर्षीय विनोद चौधरीको साथबाट लागु पदार्थ भेटिएको र उक्त लागु औषध खरिद विक्रीमा संलग्नता रहेको भेटिएकोले मेघौली ८ कै २५ वर्षीय समुन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
लागु औषध कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको पाँचै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी उपरीक्षक कुँवरले बताए ।