व्यवसायिक पशुपालनमा युवाको आकर्षण

 

हेम रोकाहा
चितवन, २९ बैशाख । व्यवसायिक पशुपालन पेसामा लाग्न चाहने युवाहरु पछिल्लो समय संख्यात्मक रुपमा बढेका छन् । केही युवाहरु त विदेशको राम्रो आम्दानी छोडेर स्वदेशमा नै आएर पशुपालनमा लागेका पनि छन् । सरकारले पशुपालन व्यवसायको लागि विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएको खवरले पनि युवाहरु यसतर्फ झनै हौसिएका छन् ।
सरकारले पशु विकासका लागि ल्याएका विभिन्न अनुदानका कार्यक्रमले पनि युवाहरुलाई पशुपालन व्यवसायमा आकर्षित गरेको बताउँछन् व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरका अध्यक्ष किशोर बगाले । कतिपय कृषकहरु भने नेपाललाई दुग्ध उत्पादन व्यवसायमा आत्मनिर्भर बनाउनु पर्छ भनेर पनि लागेको उनले बताए । ‘दुग्ध उत्पादन व्यवसायलाई आकर्षक पेसा बनाउनुपर्छ भनेर लाग्ने कृषकहरु पनि हुनुहुन्छ’ उनले भने, ‘जति पनि हामी युवा साथीहरु लागिरहेका छाँै, यो पेशालाई राम्रोसँग व्यवस्थापन गरेर नेपाललाई दुग्ध उत्पादन क्षेत्रमा आत्मनिर्भर बनाउन लाग्नुपर्छ ।’ पशुपालन व्यवसाय घाँसमा आधारित व्यवसाय भएकाले सरकारले घाँसमा नै बढी अनुदान दिन आवश्यक रहेको बगालेले बताए ।
तुलनात्मकरुपमा पहिले भन्दा पशुपालन गर्दे युवा किसानहरु बढेको जिल्ला पशु सेवा कार्यालय चितवनका वरिष्ठ पशु चिकित्सक रामकुमार कार्कीले बताए । ‘पहिलेको तुलनामा अहिले युवाहरु पनि पशुपालन व्यावसायमा आकर्षित भएका छन्’ वरिष्ठ पशु चिकित्सक कार्कीले भने, ‘रोजगारका अन्य अवसरहरु पाए छोडेर जाने पनि छन् । तर पशुपालन व्यवसाय छोड्ने भन्दा थपिने युवा कृषक धेरै छन् ।’
सरकारले पशुपालन व्यवसायकै लागि भनेर बर्सैनि करोडौँको लगानी गर्ने गरेको छ । जसबाट केही हदसम्म भए पनि पशुपालन व्यवसायलाई टेवा पुगेको छ र यो पेसामा लाग्न चाहनेहरुलाई थप हौसला मिलेको छ । सरकारले पशुपालन गर्ने युवा किसानहरुको लागि युवा लक्षित कार्यक्रमहरु पनि ल्याएको कार्कीले बताए । ‘१८ वर्ष पुगेका र ५० वर्ष ननाघेका युवाहरुलाई अनुदानका कार्यक्रमहरु ल्याइएको छ’ उनले भने, ‘सरकारले पशु बिमाको पनि व्यवस्था गरेको छ । यदि अप्रत्यासित रुपमा पशु मरिहालेमा किसानले क्षति बेहोर्नु पर्दैन ।’
सरकारले पशुपालन व्यवसायको लागि सहजता दिनको लागि विभिन्न कार्यक्रमहरु ल्याएको भए पनि व्यवहारिक कठिनाइका कारण यो पेशामा चुनौती थपेको छ । राज्यबाट प्रदान गर्ने भनिएको ६ प्रतिशत व्याजदरमा सहुलियतको ऋण पनि किसानहरुले त्यति सजिलोसँग पाएका छैनन् । राज्यबाट ६ प्रतिशत व्याजदरमा ऋण दिने भए पनि बैंकबाट भने नपाइने गरेको भण्डाराका पशुपालक किसान भिमानन्द पराजुली । विभिन्न सहकारी संस्थाहरुबाट ऋण लिदा महंगो व्याज तिर्नु परेको उनले गुनासो गरे । व्यवसायबाट राम्रो आम्दानी भएजस्तो देखिए पनि बैंकको ऋण तिर्दैमा ठिक्क भएको उनको भनाइ छ । सरकारले भनेजस्तो सहयोग नगरेको उनले बताए ।
सरकारले प्रदान गर्ने ६ प्रतिशत व्याजदरमा सहुलियतको ऋण बैँकहरुको कारण किसानहरुले पाउन मुस्किल भइरहेको वरिष्ठ पशु चिकित्सक कार्की बताउँछन् । बैँकहरुले नयाँ फर्म खोल्नको लागि ऋण दिने गरेको तर पुरानो फर्मको लागि भने ऋण नदिएको उनले बताए । पशुपालन व्यवसायमा सरकारले थप सहजता पुयाउन सके यसप्रति आकर्षित युवाहरु प्रोत्साहित हुने थिए ।
सार्वजनिक सुनुवाई
जिल्ला पशु सेवा कार्यालय चितवनले मंगलबार गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने किसानहरुले सरकारले प्रदान गर्ने हरेक अनुदान सबै किसानहरुलाई समान हुनुपर्ने बताएका छन् । सरकारीस्तरबाट पाउने किसानहरुको अनुदानमा राजनीतिक हस्तक्षेप हँदा गरिब किसानले सहज अनुदान पाउन नसकेको उनीहरुको भनाइ थियो । कार्यक्रममा बोल्दै गोरखकाली गाई फार्म रत्ननगरका किशोर बगालेले किसानहरुले पाउने अनुदानमा राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताहरुको लागि लाभ उठाउने काम गर्न नहुने बताए । किसानहरुले अनुदानको समान रुपमा वितरण गर्न आग्रह गरे । भरतपुर २१ गीतानगरका पशुपालक अच्युत तिमल्सिनाले नपढेका किसानहरुले प्राय अनुदान नपाउने बताउँदै सरकारी स्तरबाट पाउने अनुदानको समान रुपमा वितरणका लागि उनीहरुलाई सुचना दिनुपर्ने बताए । सरकारले घाँस खेतीको विकासका लागि अनुदान दिए पनि घाँसको बजार व्यवस्था नभएको गुनासोलाई सम्बोधन गर्दै पशु कार्यालयका प्रमुख रामकुमार कार्कीले घाँसको बजार स्वयम् किसानले नै गर्नुपर्ने बताए । उनका अनुसार चितवनमा घाँस खेतिको विकास एवं व्यवस्थापनका लागि १६ लाख रूपैंयाँ बजेट विनियोजन भएको छ ।
किसानहरुले घाँस खेतीमा प्रति हेक्टर १० हजारका दरले अनुदान पाउने छन् । त्यस्तै पशुहरुको कृत्रिम गर्भाधानमा सेवा शुल्क बढी भएको गुनासोलाई सम्बोधन गर्दै डा. कार्कीले चिकित्सकले घरमै पुगेर गरेको सेवा शुल्कमा आफुले दाबी गर्न नसक्ने बताए । कार्यालयमै पशु ल्याएर कृत्रिम गर्भाधान गराउदा २५ रूपैंयाँ मात्र लाग्ने बताउँदै उनले डेलिभरी सेवामा चिकित्सकहरुले ३ सय भन्दा बढी शुल्क नलिन आग्रह गरे ।

.