खडेरीले सुक्दै छन् निकुञ्ज वरपरकाका तालतलैया

राजेन्द्र आचार्य
चितवन, २९ बैशाख । चितवन राष्ट्रिय निकुञ्जभित्र, मध्यवर्ती र वरण्डाभार क्षेत्रका  प्राकृतिक तालतलैया सुक्दै गएपछि लोप हुने अवस्थामा पुगेका छन् । विश्वसम्पदा सूचीमा सूचीकृत जैविक विविधताको खानीका रूपमा परिचित निकुञ्जका ताल सुक्दै जान थाले पनि संरक्षणकर्मी एवं सरोकारवालाले चासो दिएका छैनन् ।
तालहरू लोप हुने अवस्थामा पुगेका छन् । जसमा पनि पछिल्लो समयमा लामो समयसम्म परेको खडेरीले यसको झनै प्रभाव परेको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न रामवेल सामुदायिक वनमा निर्माण गरिएको राईनो ताल पुरै सुकेर धाजा फाटेको छ । भने यस्तै टिकौली, कुमाल, चेपाङ्ग, बाटेमुसहर ताल पनि पानीको मात्र निकै कम छ । समय–समयमा पर्ने खडेरीका कारण वनयजन्तुलाई खानेपानी र आहार विहार लागि विभिन्न तालहरु बनाईएका थिए । ति तालमा समेत पानी सुसक्नै थालेको छ– टिकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष वुद्धिमान विकले भने । खडेरीले निकै सताएको छ, यसको विकल्प खोज्नुपछ ।

निकुञ्जको कोर एरिया र मध्यवर्ती क्षेत्रमा पाच दर्जनभन्दा बढी साना–ठूला ताल रहेको निकुञ्जमा अभिलेख छ । तर पनि अहिले बिसहजारी, नन्दभाउजू, तमोर र लामी तालमा मात्रै केही भागमा पानीको मात्रा देखिन्छ । यी तालसमेत साघुरिँदै र पुरिदै गएका छन् । यस्तो अवस्था आउदासमेत अहिले कसैले पनि यी तालको संरक्षणमा चासो दिएका छैनन् । निकुञ्जमा रहेका, लघुनाताल देवीताल, सानो लामीताल, गरुडताल, कमलताल, थपलियाताल संकटमा परेको त्यहा पुग्ने जो–कोहीले सजिलै देख्न सक्छ । समयमै तालको सरसफाइ र संरक्षणको अभावका कारण वर्षेनी ती ताल सुक्दै घासेमैदानमा परिणत भइरहेको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुङ्गानाले बताए ।

‘बिसहजारी तालमा मृगकुञ्जमार्फत सरसफाइ सुरु गरे पनि अरू तालको संरक्षणमा कसैले चासो दिएनन्,’ उनले भने । निकुञ्जको प्राकृतिक सौन्दर्य एवं सिमसार क्षेत्रको रूपमा परिचित तालहरू सरसफाइ र संरक्षणको अभावसाथै जलवायु परिर्वतनको असरका कारण कुरूप बन्दै गएका छन् । निकुञ्जभित्रका मण्डाताल, अजिङ्गरेताल, लगुनाताल, गरुडताल, सानो लामीताल र थपलियातालमा वर्षाको समयमा मात्र पानी हुने र अन्य समयमा दलदले हिलो मात्र हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेंलले बताए । ‘समयमै सरोकारवालाले ध्यान नदिने हो भने निकुञ्ज तालविहीन हुनेछ,’ उनले भने, ‘तालसँगै जीवजन्तुलाई समेत लोप बनाउनेछ ।’
करिब तीन किलोमिटर लम्बाइ भएका ताल अहिले ६ सय मिटरमा सीमित हुदै छन् । तालमा करौते झार, जलकुम्भी झार मौलाउदै गएको छ । नौ सय ३२ वर्ग किलोमिटरमा फैलिएको नेपालकै पहिलो राष्ट्रिय निकुञ्जको रूपमा समेत परिचित छ । निकुञ्जभित्र संरक्षित जलचरसँगै विश्वमै दुर्लभ मानिएको एकसिंगे गैडा, पाटेबाघ, वनहात्ती, गोहीलाई ताल सुक्नाले बढी असर पारेको छ ।
निकुञ्ज घुम्न आउने पर्यटकले फालेका प्लास्टिकजन्य फोहोर, सिसा, बोत्तल र अन्य विविध कारणले थप कुरूप बन्दै गएको छ । जलचर र थलचर जीवजन्तु मात्र नभएर ठूला जनावर गैँडा र बाघको पानी खाने र आहाल खेल्ने ताल सुक्दै गएकाले वन्यजन्तुसँगै निकुञ्जको पर्यटन व्यवसायलाई समेत असर पारेको क्षेत्रीय होटल संघ पटीहानी ईकाई समितिका अध्यक्ष गणेश पौडेलले बताए ।