१५ जना किसान सम्मानित

चितवन, २८ बैशाख । चितवनमा रहेर व्यावसायिक रुपमा पशुपालन गर्दै आएका किसानहरुलाई जिल्ला पशु सेवा कार्यालय चितवनले सम्मान गरेको छ । लामो समयदेखि पशुपालनमा संलग्न रहेका ७० वर्ष नाघेका किसानहरुलाई कार्यालयले मंगलबार सम्मान गरेको हो ।

कार्यालयले चितवनमा लामो समयदेखि व्यावसायिक रुपमा पशुपालन गर्दै आएका करिब १५ जना किसानलाई चार हजार नगद, कदरपत्र र दोसल्ला सहित सम्मान गरेको हो । उमेरले बुढ्यौली लागेपनि व्यवसायिक रुपमा पशु पाल्दै आएका ८६ वर्षसम्मका अग्रज किसानको सम्मान स्वरुप कार्यालयले कदर गरेको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर रामकुमार कार्कीले बताए । आगामी वर्षहरुमा पनि किसानलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने कार्कीको भनाइ थियो । सम्मान रकम थोरै भएपनि किसानहरुको हौसलाको लागि उक्त रकम प्रदान गरिएको बताउँदै कार्कीले यस्ता खालका सम्मानले अन्य किसानहरु समेत व्यावसायिक बनाउने बताए । जिल्ला पशु सेवा कार्यालय चितवनले किसानहरुलाई प्रोत्साहन गर्नको लागि विभिन्न क्षेत्रमा अनुदान समेत प्रदान गर्दै आएको छ ।