चितवनमा एचआईभीका कारण १ सय १५ जनाको मृत्यु

 

चितवन, वैशाख २८ । चितवनमा ८ बर्षको अवधिमा ११५ जना एचआईभी संक्रमितको मुत्यु भएको छ । जिल्ला सदरमुकाम भरतपुरमा रहेको भरतपुर अस्पतालको ए.आर.टी सेवा लिएका मध्ये १ सय १५ जना एचआईभी संक्रमितको मुत्यु भएको हो ।
एचआईभी संक्रमितलाई लक्षित गरि अस्पतालमा स्थापना गरिएको सेवा केन्द्रमा २०६४ सालदेखी हालसम्म आएका १२ सय ९२ मध्ये १ सय १५ जना एचआईभी संक्रमितको मुत्यु भएका अस्पतालका ए.आर.टी सेवाका संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । जस मध्ये १ सय ११ जनालाई विरामीको पाएक पर्ने सेवा केन्द्र रिफर गरेको समेत उनले बताए । सेवा केन्द्रमा आई खुलेका एचआईभी संक्रमित उनीहरुको चाहना अनुसार गोप्य रुपमा केन्द्रमा उपचार गराउन केन्द्र ८ अगाडी स्थापना भएको थियो ।
यस्तै हाल केन्द्रमा ६ सय ५७ जनाले सेवा लिइरहेका छन् । चितवनको भरतपुर अस्पतालबाट ए.आर.टी सेवा लिनेहरुमा चितवन सहित नवलपरासी, मकवानपुर, गोरखा, तनहुं र लमजुङका बिरामीहरु सेवा लिन आउने गर्दछन् । रिफर गरिएकाहरु भने बारा, पर्सा, रौतहट जिल्लाका रहेको सेवा केन्द्रले जनाएको छ ।
के हो ए.आर.टी सेवा
एन्टी रेट्रो भाइरल थेरापी भनेर चिनिने यो सेवा विषेशगरी एच.आई.भि संक्रमण भई तेस्रो चरणमा पुगेकाहरुलाई दिने गरिन्छ । भरतपुर अस्पतालले वि.सं. २०६४ सालदेखी यो सेवा सुरु गरेको हो ।
एच.आई.भि संक्रमण भएको पहिलो चरणमा खासै थाहा नहुने र दोस्रो चरणमा ज्वरो आउने, पखला लाग्ने समस्याहरु मात्रै देखा पर्दछन् । तर तेस्रो चरणमा भने शरिको तौल घट्ने, ज्वरो तथा पखला सञ्चो नहुने, घाउ खटिरा आउने, लगायतका समस्याहरु देखा पर्दछन् ।
ए.आर.टी सेवाका संयोजक कृष्णहरि सापकोटाका अनुसार ए.आर.टी सेवा लिन आउनेको रगत, पिसाबहरु जांच गरेर सेवा दिने गरिन्छ । यो सेवा अस्पतालले निशुल्क रुपमा सुरु गरेको सेवा हो । सापकोटाका अनुसार संक्रमितहरुसंग रोगसंग लड्न सक्ने क्षमताका कोषहरु ५ सय भन्दा कम रहेको छ भने ए.आर.टी सेवा लिन सुरु गरिन्छ । ५ सय भन्दा बढि कोषहरु रहेको अवस्थामा संक्रमितहरुलाई सिक पलोअपमा राखेर कट्री मक्साजोल औषधीको सेवन गराउने गरिएको छ । ए.आर.टी सेवा लिनेहरु प्रत्येक महिना अस्पतालमा आउनुपर्दछ ।
भारतमा रोजगारी भएकालाई बढी
चितवनको भरतपुरमा एआरटि सेवा लिने बिरामीहरुमध्ये ८० प्रतिशत भारतमा रोजगारीको सिलसिलामा गएकाहरु रहेका छन् । जसमध्ये भरतपुर, रत्ननगर, जुटापनी, पदमपुर, मंगलपुर, माडी, चैनपुर, लगायतका ठाउँका रहेका छन् । चण्डीभञ्ज्याङ र दाहाखानीको हकमा भने कुनैको तथ्यांक अस्पतालमा नरहेको सापकोटाले बताएका छन् ।
सापकोटाका अनुसार एच.आइ.भि संक्रमितहरुले नियमित रुपमा ए.आर.टी सेवा लिने, मानसिक तनाव नलिने, मादक पदार्थ सेवन नगर्ने र नियमित खाना खाने हो भने रोगँंग लड्न सक्ने ख क्षमता धेरै हुन्छ । देशभर ६२ वटा ठाउंहरुबाट ए.आर.टी सेवा उपलब्ध गराउंदै आइएको छ । अस्पतालले २० जना संक्रमितहरुबाट सेवा सुरु गरेको थियो ।