कुखुराको दानाको मूल्य समायोजना गर्न माग

चितवन, २७ वैशाख । अण्डा उत्पादक किसानहरुले दानाको मुल्य समायोजन गर्न माग गरेका छन् । कुखुरालाई खुवाउने दानाको मुल्य महँगो भएको भन्दै मुल्य घटाउन किसानहरुले माग गरेका हुन् ।
चितवनको रत्ननगरमा भएको नेपाल अण्डा उत्पादक संघको १३ औँ केन्द्रीय साधारण सभामा बोल्ने किसानहरुले अण्डा उत्पादनमा लागत बढेको भन्दै दाना र चल्लाको मुल्य समायोजन हुनुपर्ने बताएका हुन् । दाना बनाउने कच्चापदार्थ मकै र भटमासको मुल्यमा कमी आँउदा समेत दाना उत्पादकहरुले मुल्य समायोजन नगरेकोे अण्डा उत्पादक किसानहरुले गुनासो गरे । त्यस्तै, लागत मुल्य भन्दा कम मुल्यमा अण्डा बेच्नु परेकोले किसान घाटामा रहेको भन्दै सरकारले किसानहरुलाई राहत र सहुलीयतको व्यवस्था गर्नुपर्ने अण्डा उत्पादक किसान किरणभूषण ओलीले बताए ।
साधारण सभाका प्रमुख अतिथि मध्यमाञ्चल क्षेत्रीय पशु सेवा निर्देशनालय काठमाडौँका निर्देशक डा.महेशराज बिष्टले दानाको मुल्यमा कमी ल्याउन मकै र भटमासको उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । पोल्ट्री क्षेत्रमा अब नस्ल सुधार, आहार, स्वास्थ्य र बजारीकरणका नयाँ कार्यक्रम ल्याउने तयारी सरकारले गरेको बिष्टले बताए । आगामी वर्षबाट सरकारले २० वर्षे कृषी विकास रणनीति लागू गर्न लागेकोले त्यस पश्चात् अण्डाको उत्पादन र बजारीकरणमा थप टेवा पुग्ने विष्टको भनाइ थियो ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीको अध्यक्षता भएको कार्यक्रमा नेपाल ह्याचरी व्यवसायी महासंघको अध्यक्ष टिकाराम पोखरेल, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष शंकर प्रसाद कंडेल, कुखुरा व्यवसायी महासंघको अध्यक्ष चन्द्रमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

Promise Education Consultancy