भरतपुरमा सेवा केन्द्र विस्तार

चितवन, २७ वैशाख । भरतपुर उपमहानगरपालिकाले सेवा केन्द्र विस्तार गरेको छ । कार्यालयले सोमबारदेखि सेवा केन्द्र विस्तार गरेको हो । कार्यालयले आफ्नो पहिलो सेवा केन्द्रको रुपमा उपमहानगरपालिकाको वडा नम्बर १० मा सेवा केन्द्र विस्तार गरेको छ ।
vlcsnap-2016-05-09-18h39m24s128

वडा नम्बर १० मा स्थापना गरिएको सेवा केन्द्रबाट अहिलेलाई एकीकृत सम्पत्ती कर र विविध कर महसुल तिर्न सकिने भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले बताए । परीक्षणको रुपमा उपमहानगरपालिकाका कार्यालयबाट नजिकै रहेको वडा नम्बर १० मा सेवा केन्द्र विस्तार गरिएको बरालको भनाइ छ । पहिलो सेवा केन्द्रमा सफल परीक्षण भएपछि अन्य स्थानमा समेत सेवा केन्द्रहरु थप गरिने बरालले बताए ।
उपमहानगरपालिकामा पछि थपिएका वडाका बासिन्दाहरुलाई कार्यालयमा आउन कठिनाइ भएको व्यापक गुनासो आएपछि सेवा केन्द्र बिस्तार गर्न कार्यालय लागिपरेको बरालको भनाइ छ । बिस्तारित वडाहरुको संयुक्त वडा कार्यालयबाट १५ दिनभित्र सेवा कार्यालय सञ्चालनमा ल्याउने समेत बरालले बताए । पहिलो सेवा केन्द्र स्थापना गर्नको लागि करिब चार लाख रुपैयाँ खर्च लागेको बरालको भनाइ छ ।
उच्च गतिको इन्टरनेट जडान गरेर सेवा केन्द्र स्थापना गरेको जानकारी दिँदै सेवा केन्द्रबाट भएको काम तुरुन्तै मुख्य कार्यालयमा जानकारी हुने र कम्प्युटरमा सुरक्षित हुने बरालले बताए । अन्य सेवा केन्द्रहरु विस्तार गर्दा अब बढीमा दुई लाख रुपैयाँ खर्च हुने समेत बरालको भनाइ थियो । सेवा केन्द्र विस्तारसँगै वडा नम्बर १० का सेवाग्राहीहरु लाभान्वित भएका छन् । कार्यक्रममा नेकपा एमालेका अरुणपीडित भण्डारीले अब स्थानीय सेवाग्राहीको समय समेत बचत हुने बताए ।
नेपाली काँग्रेसका नगर सभापति भरत अधिकारीले सेवाकेन्द्रबाट सेवा प्रभावकारी बनाउनुपर्ने धारणा राखे । कार्यक्रम भरतपुर उपमहानगरपाकिलाका कार्यकारी अधिकृत महेश बराको अध्यक्षतामा भएको थियो ।