ट्राफिक सप्ताह अन्तर्गत पर्चा वितरण

चितवन, २७ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र नेपाल रेडक्रस सोसाईटीको संयुक्त आयोजनामा आइतबारदेखि शुरु ट्राफिक सप्ताह अन्तर्गतको कार्यक्रममा सोमबार भरतपुर र नारायणगढका विभिन्न चोक–चोकमा पर्चा वितरण गरिएको छ ।
विभिन्न ट्राफिक स्वयम् सेवकहरुले पर्चामा ट्राफिक नियम सम्बन्धी जानकारीहरु समावेश छन् । आम सर्वसाधारणमा समेत जनचेतना जगाउन पर्चा वितरणको कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले जानकारी दिए । ट्राफिक नियम सम्वन्धी चेतना अभिवृद्धी नहुदा अकालमै मृत्यु वरण हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै ट्राफिक चेतना वढाउनुपर्नेमा जोड भेटवालले जोड दिए ।
मानवीय जीवनसँग सम्बन्ध राख्ने विषय भएकाले सडक शिक्षा जरुरी रहेको भेटवालको भनाइ थियो । ट्राफिक सप्ताहको अवसरमा जेठ १ गतेसम्म ट्राफिकसँग सम्वन्धित विभिन्न चेतनामुलक कार्यक्रम गरिदै छ । ट्राफिक प्रमुख भेटवालका अनुसार सप्ताहको अवसरमा सार्वजनिक बसमा आरक्षण सिटको अनुगमन, छाडा पशु चौपायाहरुको व्यवस्थापन, पर्चा पम्प्लेट वितरण, जिल्लाका चोक चोकमा ट्राफिक शिक्षा प्रदान गर्ने लगायतका कार्यक्रमहरु हुनेछन् ।